५ कार्तिक २०८३, बिहिबार

कांग्रेसमा संरचनागत परिवर्तनको समस्या

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ मंसिर । प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानतः निर्मित संघीय संरचनाअनुसार आफ्नो पार्टी संयन्त्रलाई ढाल्न सकिरहेको छैन । यसले आफ्नो पार्टीको विधानलाई लिखित रूपमा मुस्किलले संघीयताको ढाँचाअनुरूप त बनाएको देखन्छ तर यसको व्यावहारिक प्रयोगका लागि अघि बढेको देखिँदैन ।

देशमा संघीय संरचना कार्यान्वयनका लागि संविधानले निर्देश गर्दै गर्दा कांग्रेसले उक्त संरचनागत परिवर्तन व्यावहारतः स्वीकार गर्नमा ढिलाइ गरिरहेको छ । संघीयता बारेमा यसका केही अव्यक्त सैद्धान्तिक असमति पनि रहेको देखिन्छ, यद्यपि यसले संघीय संविधान जारी हुँदाका बखत कुनै पनि आधिकारिक विमति र आलोचना भने गरेको छैन ।

पहिलो कुरा, यसले संघीयताको संरचना कांग्रेसको परिकल्पना नभई वामपन्थीको भएको स्वीकार गर्छ । नेपाली कांग्रेसले परिकल्पना गरेको संसदीय संरचनाभन्दा यो नितान्त भिन्न भएको अनुभूत पनि गर्छ ।

यसले कांग्रेसलाई सधैं प्रतिपक्षमा मात्र राखिरहने त होइन भन्ने उसको आशंका रहेको पनि देखिन्छ । मूल कुरा उसले यो संरचनागत परिवर्तनमा आफ्नो स्वामित्व देखिरहेको छैन ।

अर्को कुरा, यो संरचना निर्माणको पृष्ठभूमिमा नेपाली कांग्रेसको राष्ट्रियताको परिभाषा नै हराएको छ । त्यो हो, संवैधानिक राजतन्त्रको अन्त्य । नेपाली कांग्रेस बीपी कोइरालाले भन्ने गरेको ‘राजा राष्ट्रियता’ र ‘बीपी प्रजातन्त्र’को पुरानै मान्यताबाट अघि बढेको छैन ।

यसले नेपालको विकसित सन्दर्भमा राष्ट्रियता र प्रजातन्त्रको नयाँ खालको परिभाषा दिन पनि सकेको छैन, त्यसैले पनि संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्यसँगै नवनिर्मित संघीय संरचनात्मक परिवर्तन कांग्रेसका लागि अप्ठेरो बन्न पुगेको देखिन्छ ।

समय बलवान छ । नयाँ परिस्थितिले नेपाली कांग्रेसलाई घिसार्न थालेको भान हुन्छ । यो संरचनागत तह र यसको गति, यति र लयमा नेपाली कांग्रेस सलसली बग्न सकिरहेको छैन ।

बरु यो संरचना कांग्रेसको सोच र व्यावहारिक गतिमा उल्टै बाधक बन्न पुगेको छ । संविधानको घोषणासँगै कांग्रेसको बाध्यात्मक यात्रा सुरु हुनगई त्यसलाई प्रतिपक्षीय भूमिकामा धकेलिदिएको छ । संघीय साथै प्रदेश तथा स्थानीय तहमा पनि कांग्रेस हेलिन बाध्य छ । त्यहाँ पनि उसका प्रादेशिक र स्थानीय निर्वाचित प्रतिनिधि छन् ।

तर, कांग्रेस हेलिएर गएको हो वा उपयोग गर्न मात्र बाध्य भएको हो ? यो विचारणीय कुरा बनेको छ । अहिले कांग्रेसभित्रै हिन्दु भ्रष्टाचार«को कुराले स्थान पाउँदा यो संरचनात्मक अवस्थासँग नेपाली कांग्रेस सहमत नरहेको छनक मिल्छ ।

यससँगै कांग्रेस अझैं पनि केन्द्र र जिल्लाको संरचनामा पार्टीपंक्ति चलाइरहनु र संरचनात्मक परिवर्तनसँग बेमेल हुने राजनीतिक–सांस्कृतिक एजेन्डाहरू उठानको तयारीमा देखिन्छ । राजधानी दैनिकले खबर छापेकाे छ ।