– कुन कानुन र संविधानको धाराअनुसार तपाईंंले चार–चारवटी विवाह गर्नुभो ?
– उस्तै प्रकृतिका मुद्दामा २१ दिनबीच फरक–फरक फैसला गर्नु चलखेल नभए कुन आधारमा हो त ?
– तपाईंमाथि यति धेरै आरोप छन्, विरक्तिएर यहीँबाट संन्यास घोषणा गर्दै प्रायश्चित गर्नतिर लाग्दा हुँदैन ?
सभासदहरूले लगातार प्रश्नले प्रहार गरिरहँदा शुक्रबार संसदीय सुनुवाइ विशेष समितिमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि आफ्नो योग्यता, छवि र क्षमताको सार्वजनिक परीक्षा दिइरहेका पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोपाल पराजुली कहिले भावुक त कहिले तनाव, कहिले आवेग त कहिले आक्रोशले उत्तेजित देखिन्थे।
न्यायपरिषदबाट सर्वोच्चमा रिक्त स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस पराजुली आफूमाथि लागेका २१ उजुरीबारे सभासदका प्रश्नको सामना गर्दै थिए। प्रश्न जति तेजिला र तार्किक सोधिन्थे, उनी उत्तिकै जोसिँदै जवाफ दिन्थे। कुनै प्रश्न छलिदिन्थे त कुनैमा भावुक जवाफले ध्यान मोडिदिन्थे।
न्यायपरिषद सिफारिसबारे संसदीय समितिमै मतभेद र लामो विवादपछि शुक्रबार पहिलो दिन नै सिफारिस आठमध्ये दुई न्यायाधीशको सुनुवाइ सकिएको छ।
पराजुली र पुनरावेदनका पूर्व मुख्य न्यायाधीश वैद्यनाथ उपाध्यायलाई शुक्रबार संसदीय कठघेरामा उभ्याएका सभासदहरूले दुई घन्टा लगातार प्रश्नै प्रश्न गरेर हैरान र आक्रोशित बनाएका थिए। न्यायाधीशहरू कतिपय प्रश्नको उत्तरै नदिई समितिबाट बाहिरिएका थिए।
‘सर्वोच्चको न्यायाधीश हुने व्यक्तिलाई २१ वटा गम्भीर खालका उजुरी परेका छन्,’ एमाले सभासद भीम रावलले पराजुलीलाई सोधेका थिए, ‘यत्तिका आरोप लागिसकेपछि यहीँबाट विरक्त लाग्यो भन्दै संन्यास लिएर प्रायश्चित गर्नतिर लाग्दा हुँदैन ?’
एकीकृत माओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले पनि पश्चाताप गर्ने ठाउँ अझै रहेकाले गल्ती सच्याउन सुझाएका थिए। ‘तपाईंंलाई पश्चातापको ठाउँ अझै पनि छ,’ उनले भने, ‘तपाईंले भित्रैदेखि गरेका गल्ती प्रायश्चित गर्न सक्नुहुन्छ।’
एमाओवादीकै अग्नि सापकोटाले ‘आरोप हेर्दा तपाईं सबै क्षेत्रमा विचलित भइसकेको पुष्टि हुन्छ, तपाईंजस्तो व्यक्ति सर्वोच्चको न्यायमूर्ति भएर कसरी समस्या समाधान हुन सक्छरुु भनी सोधेका थिए।
एमालेकै राजेन्द्र पाण्डे र रवीन्द्र अधिकारीले न्याय खरिदबिक्री गरेको आरोप लागेकै व्यक्ति न्यायाधीश बन्दा पछि प्रधानन्यायाधीशसमेत बन्नसक्ने र त्यतिबेला न्याय खरिदबिक्री हुँदैन भनेर विश्वास गर्ने आधार के भनी पराजुलीलाई र्यााखर्या ख्ती पारेका थिए।
पाण्डेले ‘उस्तै प्रकृतिका मुद्दा २१ दिनमा नै फरक–फरक फैसला गर्नुभएको छ, चलखेलका आधारमा नभई यो के हो तरुु भनी चरित्रमै औंला ठड्याएका थिए। एमालेकै कृपाराम रानाले कुन कानुन र संविधानको कुन धाराअनुसार चारवटी विवाह गरेको भनी प्रश्न गरेका थिए।
पराजुलीले आफूविरुद्ध लागेका आरोप र उजुरी षड्यन्त्रपूर्ण भएको जवाफ दिए। सर्वोच्च अदालतका एक पूर्व प्रधानन्यायाधीशले नै अदृश्य रूपमा उजुरी र मिडियाबाजी गराएको उनको आरोप थियो।
‘तातोपानीले घर डढाउँदैन,’ आफू निर्दोष रहेको दाबी गर्दै पराजुलीले भने, ‘त्यसका लागि आगो नै लगाउनुपर्छ।’
अधिकांश सभासदले सोधेको बहुविवाह प्रश्नमा भने उनी भावुक देखिए। आफूले बाध्यतामा चारवटा विवाह गरेको भए पनि यसलाई लिएर आफ्नो चरित्रहत्या भइरहेको उनको जवाफ थियो। नागरिक दैनिकबाट













प्रतिक्रिया