गोरखाबजार, १३ फागुन । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको गोरखा जिल्ला कारागारभित्र खानेपानीको अभाव भएको छ ।
दिनहुँ १० हजार लिटर पानी आवश्यक रहेको कारागारमा जम्मा दुई हजार लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ ।
पानीको मुहान (स्रोत) र भण्डारण गर्ने ट्याङ्की नहुँदा पानी सङ्कलन गरेर वितरण गर्न नपाएको जानकारी कारागारका शाखा अधिकृत (जेलर) मोहनबहादुर थापाले दिनुभयो ।
कारागारभित्र ११७ जना कैदीबन्दी छन् । त्यसमध्ये १३ जना महिला छन् ।
कारागारभित्र महिला र पुरुष बन्दी कक्ष छुट्टाछुट्टै छ । पुरुष कक्षभित्र चार वटा शौचालय छ । “बिहानपख शौचालय जान पालो कुर्नुपर्ने अवस्था छ” जेलर थापाले भन्नुभयो, “एक सय चार जनाले चार वटा शौचालय प्रयोग गर्नुपर्दा कैदीबन्दी समस्यामा छन् ।” ‘घ’ वर्गको गोरखा जिल्ला कारागार ५५ जना कैदीबन्दी क्षमताको हो ।
कारागार सञ्चालन हुँदा ४५ जनाका लागि निर्माण गरिएको भए पनि सरकारले पछि १० जना थप्ने निर्णय गरेको थियो ।
“क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भयो” थापाले भन्नुभयो, “अन्यत्र कारागारमा केही कैदीबन्दी पठाउ भने पनि जहाँतहीँको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको जानकारी हामीले पाएका छौँ ।” केही दिन अघिदेखि कैदीबन्दी बिरामी हुन थालेको उहाँको भनाइ छ ।
“सोमबार एक कैदीबन्दी बिरामी भएका थिए” उहाँले भन्नुभयो, “मङ्गलबार दुई जना बिरामी भए । उनीहरुलाई झाडापखाला लागेको रहेछ । तीमध्ये एकजना गोरखा जिल्ला अस्पतालमा उपचाररत छन् । अर्का एक उपचारपछि कारागार फर्किएका छन् ।” लगातार कैदीबन्दी बिरामी भएपछि समस्या बढेको उहाँको भनाइ छ ।
दूषित खानेपानीको कारणले उनीहरुलाई झाडापखाला लागेको हुनसक्ने उहाँको अनुमान छ ।
बसपार्कस्थित सिलखान धाराबाट पाइपमार्फत् जिल्ला कारागारमा रहेको ट्याङ्कीमा पानी लगिएको छ । पानी ट्याङ्की पुरानो र ढकनी खुल्ला हुँदा फोहोर पानी पिउन कैदीबन्दी बाध्य छन् ।
साथै कारागार भवन जीर्ण हुँदा भूकम्प आउँदा भत्कने खतरा बढेको छ ।
कारागारभित्र रहेको गाह्रोहरु चर्केकाले जुनसुकै बेला पनि भत्कन सक्ने अवस्था रहेको छ ।
जीर्ण भवन मर्मत र खानेपानीको समस्या समाधान गर्न आवश्यक बजेट प्राप्त नहुँदा समस्या झन् थपिँदै गएको थापाले बताउनुभयो ।














प्रतिक्रिया