
महोत्तरी, १३ भदौ । महोत्तरीमा सशस्त्र प्रहरीले बाह्र बोरको एउटा बन्दुक र त्यसको एउटा गोली बरामद गरेको छ । जिल्लाको सोनमा गाउँपालिका ३ स्थित रघुनाथपुरबाट भदौ १३ गते एपीएफ टोली र स्थानीयले बन्दुक बरामद गरेका हुन् ।
सशस्त्र प्रहरी बल खैरवानीबाट सशस्त्र प्रहरी निरीक्षक सनतकुमार बिष्टको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सोही स्थानमा रहेको एउटा घरबाट सो बन्दुक र गोली बरामद गरेको हो ।
बरामद हतियार तथा गोली आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।
त्यसैगरी, बारा जिल्लामा करीव १ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ ।
कलैया उपमहानगरपालिका १० बाट टोलीले भारतबाट अवैध रुपले नेपाल ल्याउँदै गरेको फेन्सी सामान, किराना सामान तथा ईलेक्ट्रिक सामान नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी ईलाकाबाट भदौ १२ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।
को.१ ह ५६८२ नम्वरको सिटी रिक्सामा राखेर भारतबाट अवैध रुपले नेपाल ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले सिटी रिक्सा समेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद लत्ताकपडा तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाएको छ । लत्ताकपडा तथा सिटी रिक्साको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।
यसैगरी, रौतहट जिल्लाको गौर नगरपालिका ४ टिकुलियाबाट भाद्र १२ गते एपीएफ टोलीले करीव एक लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बराम गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडासहित सो साईकल समेत सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा साईकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।












प्रतिक्रिया