
काठमाडौँ, ११ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढ्ने गाडीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
नयाँ बानेश्वर चोक छेउमा अनधिकृत रुपमा पार्किङ गरी राखिएको बा २ झ ४८६२ नम्बरको गाडीमा बुधबार ट्राफिक प्रहरीले ह्विल लक गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटश्वरका प्रहरी निरीक्षक सुरेशकुमार ठाकुरले गाडी चालक शिवराम थापालाई कारबाहीस्वरुप एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको बताए ।
‘पार्किङ निषेधित क्षेत्रमा भेटिएपछि प्रहरीले कारबाही गरेको हो,’ उनले भने । प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन् ।
गृह मन्त्रालयमा दर्ता रहेको गाडी मन्त्री महासेठले चढ्ने गरेको प्रहरीले जनाएको छ ।
एक महिनाअघि सिंहदरबार दक्षिण गेटमा गृह मन्त्रालयका एक सहसचिवको गाडी पनि अनधिकृत पार्किङ स्थलमा रोकेको भेटेपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो ।











प्रतिक्रिया