काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गरेका छन् ।
शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताए ।
उनले राजनीतिक दलको विचार, सिद्धान्त, आदर्श र नेतृत्व मन पराएर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै रास्वपालाई यस्तो पहिचानबाट बाहिर निकाल्नुपर्ने धारणा राखे ।
लामिछानेले भने, ‘आज यो प्रशिक्षण कार्यक्रमबाट कम्तिमा रास्वपालाई यो झोले युगबाट बाहिर निकाल्ने सोचेको छु मैले ।’
उनले पार्टीका कार्यक्रमहरूमा सहभागीलाई वितरण गरिने झोलाको विकल्पमा जनताका मुद्दा, गुनासा र सुझाव राख्न मिल्ने फाइल प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिए । फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याड तथा अन्य सामग्री राख्न सकिने उनको भनाइ थियो ।
‘हामी झोला बोक्ने होइनौँ, हामी पछि लाग्ने होइनौँ, सँगै हिँड्ने हो । झोलालाई छोडेर अब यस्तो एक किसिमको स्मार्ट डायरी सुरुवात गरौँ,’ उनले भने ।
लामिछानेले पार्टीलाई विभिन्न संस्था, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोग र प्रायोजनबाट मुक्त राख्नुपर्नेमा समेत जोड दिए । पार्टीले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने र सहभागीले आफ्नो क्षमताअनुसार सामग्री खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘कसैलाई कुनै आयोजक, प्रायोजक हाम्रा लागि चाहिँदैन । अब झोलाको युगबाट निस्केर फाइलको युगमा आइसकेपछि हामी आफैँ गर्ने, हुनेले किन्ने, नहुनेको हुने साथीले किनिदिने अभियान सुरु गरौँ ।’
लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट आएका कार्यकर्तालाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले आफूले व्यक्तिगत रूपमा कम्तिमा १० जना सहभागीका लागि फाइल खरिद गरिदिने घोषणा पनि गरे ।
उनले आर्थिक अवस्था कमजोर भएका कार्यकर्ताले सामग्री खरिद गर्न नसकेमा पार्टीभित्रैका आर्थिक रूपमा सक्षम साथीहरूले सहयोग गर्नुपर्ने बताए । सहभागीलाई झोला वितरण नगर्न आग्रह गर्दै उनले अबदेखि पार्टीका प्रशिक्षण, अभियान, अधिवेशन तथा महाधिवेशनमा फाइल प्रयोग गर्ने अभ्यास सुरु गरिने जानकारी दिए ।











प्रतिक्रिया