१२ मंसिर २०८३, शनिबार

बाढीको ९१ दिन : राजधानीको आँगनमै ‘कर्णाली’को पीडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–किरण प्रसाद अधिकारी

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी महाप्रलयले रसुवा, नुवाकोट र धादिङका बस्तीहरू बगाएको आज ठ्याक्कै ९१ दिन पूरा भएको छ । देशको संघीय राजधानी काठमाडौंबाट मात्र केही दर्जन किलोमिटरको दूरीमा रहेका यी जिल्लाहरूको वर्तमान अवस्था हेर्दा लाग्छ, यहाँ राज्यको उपस्थिति शून्य छ । राजधानीको यति नजिक रहेको भूगोलको हालत त यस्तो दयनीय छ भने दुर्गम क्षेत्रका नागरिकले सरकारबाट के आशा गर्ने ? यो प्रश्न आज हरेक प्रभावित नागरिकको मनमा अनुत्तरित बनेर उभिएको छ ।

विपद् गएको तीन महिना बितिसक्दा पनि त्रिशूली नदी वारपार गर्ने भरपर्दो विकल्प बन्न सकेको छैन । बाढी गएको केही हप्तापछि नै खोला किनारमा डोजर र मेसिनहरूले बाटो खन्दै गरेको देख्दा स्थानीयमा केही आशा पलाएको थियो । तर, विडम्बना ! तीन महिना पुग्दासमेत ती मेसिनहरू उही ठाउँमा अड्किएका छन् र बाटोको उपलब्धि खासै देखिन सकेको छैन ।

सरकारी संयन्त्रको यो कछुवा गति देख्दा व्यङ्ग्य गर्दै भन्न मन लाग्छ– ‘यो सरकारले सक्दो गरिरहेको छ, अर्को सरकार भएको भए यति पनि गर्थेन होला, अब ठिकै छ’ तर, नागरिकको धैर्यताको बाँध टुट्दै गएको छ । अर्को बर्खा लाग्नुभन्दा पहिले त पक्कै बाटो र पुल बन्छन् होला नि, हगि ?

प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको प्रत्यक्ष कुराकानीका आधारमा रसुवा, नुवाकोट र धादिङको वास्तविक अवस्थालाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुत गरिएको छ :

मोटरेबल पुलहरूको नाजुक अवस्था : धादिङको सदरमुकाम र नुवाकोटको पारि भेग जोड्ने धादिङको मास्टार र गल्छीको मोटरेबल पुलबाहेक बाढीले क्षति पुर्‍याएका अन्य कुनै पनि मोटरेबल पुलहरू बन्न सकेका छैनन् । मुख्य राजमार्ग र सहायक सडकहरूमा पक्की र अस्थायी पुल नबन्दा तीनवटै जिल्लाको यातायात र आपूर्ति प्रणाली नराम्ररी थलिएको छ ।

झोलुङ्गे पुलको अभाव र ‘कर्णाली’ बनेका बस्ती : बाढीले अधिकांश झोलुङ्गे पुल बगाएपछि त्रिशूली पारिका बस्तीहरू सम्पर्कविहीन बनेका छन् । हाल नुवाकोटको बेलकोटगढी र विदुर–३ जाने झोलुङ्गे पुल तथा विदुर–१ को वारिपारि जोड्ने पुलबाहेक अन्यत्र आवतजावत गर्ने पुल नै छैन। पुल नहुँदा राजधानी नजिकैका रसुवा, नुवाकोट र धादिङका बस्तीहरू आज ‘कर्णाली’ बनेका छन् भने त्यहाँका बासिन्दाको पीडा विकट कर्णालीबासीको भन्दा कम छैन ।

राहत वितरणमा अवरोध र असमानता : पुलको अभावले मानवीय सहायतामा समेत ठूलो तगारो हालेको छ । गैरसरकारी संघसंस्थाहरूले ल्याएका राहत सामग्रीहरू त्रिशूली नदी वारि खातमाथि खात लागेर थुप्रिएका छन्, तर वारिपारि जोड्ने पुल नभएकै कारण नदी पारिका वास्तविक पीडितको बस्तीमा भने ज्यादै थोरै मात्र राहत पुग्न सकेको छ ।

मुटु कमाउने जाडो र त्रिपालको बास : मंसिरको चिसो सिरेटो र मुटु कमाउने जाडो सुरु भइसक्दा पनि रसुवा, नुवाकोट र धादिङका पीडितहरू अझै च्यातिएको प्लास्टिकको त्रिपालमुनि रात काट्न बाध्य छन् । बालबालिका, सुत्केरी र वृद्धवृद्धाहरू चिसोका कारण बिरामी पर्न थालेका छन्, तर न्यानो छानोको कुनै टुङ्गो छैन ।

सरकारी राहत कोषको विडम्बना : भोटेकोशी र त्रिशूलीको महाप्रलयका पीडितलाई सहयोग गर्ने नाममा सरकारी कोषमा रकम जम्मा गर्ने एउटा ‘फेसन’ नै चलेको छ । दाताहरूले कोषमा पैसा जम्मा गरेर ठूलै सहयोग गरेको भान पारे पनि सरकारी राहत कोषबाट पीडितले आजसम्म एक पैसा पनि पाउन सकेका छैनन् । पीडामाथि पीडा थपिएको छ ।

आधारभूत पूर्वाधारको विनाश : बाढीले रसुवा, नुवाकोट र धादिङका कैयौँ विद्यालय भवन, खानेपानीका मुहान र स्थानीय वृद्धाश्रमहरूमा ठूलो क्षति पुर्‍याएको छ । बालबालिकाको भविष्य अन्योलमा छ भने स्वच्छ पिउने पानीको हाहाकार मच्चिएको छ ।

अन्त्यमा, यदि कोही पनि मनकारी व्यक्ति वा संघसंस्था साँच्चै बाढी पीडितलाई राहत दिन चाहनुहुन्छ भने सरकारी कोषमा रकम जम्मा गर्ने औपचारिकता बन्द गर्नुहोस् । सरकारी कोषमा पैसा दिँदा पीडितले यो पीडाको क्षणमा केही पाउने अवस्था देखिएन । बरु, सीधा प्रभावित क्षेत्रमा गएर बगेका झोलुङ्गे पुलहरू बनाइदिनुस्, भत्किएका विद्यालय भवन ठड्याइदिनुस्, पिउने पानीको व्यवस्था गरिदिनुस् र असहाय वृद्धाश्रमहरूलाई सहयोग गर्नुस् । पीडितलाई छिट्टै राहत दिने र उनीहरूको आँसु पुछ्ने अहिलेको सर्वोत्तम तरिका यही नै हो ।

(लेखक भोटेकोशी–त्रिशूली बाढी पीडित सरोकार समितिका सहसचिव हुन् । उनी स्वयम् भोटेकोशी–त्रिशूली बाढीबाट पूर्ण रूपमा प्रभावित हुन् ।)