१२ मंसिर २०८३, शनिबार

एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् ।

शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान दुई गोल गरेपछि अंक बाँडेका हुन् ।

प्रतियोगितामा अघिल्लो खेलमा पराजित भएको सुदूरपश्चिमलाई सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नैपर्ने दबाब थियो । तर एपीएफसँग बराबरीमा रोकिएसँगै सुदूरपश्चिम लिग चरणबाटै बाहिरिएको छ । दुई खेल खेलेको एपीएफ भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सातौं मिनेटमै सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर एपीएफका गणेश पुलामीले १६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको २६ औं मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि विभागीय टोलीले २–१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा सुदूरपश्चिमको पुनरागमन

पहिलो हाफमा एक गोलले पछि परेको सुदूरपश्चिमले दोस्रो हाफमा पुनरागमन गर्ने प्रयास गरेको थियो । खेलको ७२ औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ को बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवै टोलीले गोलका लागि प्रयास गरे पनि थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका थिए । एपीएफका सुमन श्रेष्ठले खेलको ६० औं मिनेटमा र सुदूरपश्चिमका विष्णु चौधरीले ८९ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

यसअघि पहिलो खेलमा मधेश प्रदेशसँग पराजित भएको सुदूरपश्चिम दोस्रो खेलमा पनि जित निकाल्न असफल भएपछि प्रतियोगिताबाट बाहिरिएको हो ।

एपीएफले भने दुई खेलबाट सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ ।