
काठमाडौं, १० भदौ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अभियोग लागेकी तर जिल्ला अदालत चितवनले साधारण तारेखमा हिरासतमुक्त गरेकी पीडित अस्मिता कार्की ‘रुकु’लाई मानाहानी र गोपनियता भंग गरेको विषयमा उजुरी नगर्न दबाब दिएको खुलेको छ ।
न्युज २४ र सिधा कुरा जनतासँगका निर्माता दिपक बोहराले कार्की र मृतक पत्रकार पुडासैनीबीच भएको एसएमएस, च्याटका स्क्रिन सर्ट गर्दै गोपनियताको भंग गरेका थिए । उक्त विषयमा पीडित रुकुले पुडासैनी आत्महत्या प्रकरणमा आफ्नो मुद्दाका विषयमा किनारा नलाग्दै कसैलाई निर्दोष देखाउनका निम्ति चरित्र हत्या गरिएको दाबी गरेकी छन् ।
यस विषयमा कुनै मुद्दा नगर्नका लागि सिधा कुरा जनतासँगका कार्यक्रम निर्माता बोहरा, प्रस्तोता रवि लामिछाने र न्युज २४ टेलिभिजनले यस्तो दबाब दिएको खुलेको हो ।
बोहराले आत्महत्या प्रकरणमा लामिछाने निर्दोष भएको भन्दै पुडासैनी र कार्कीबीच भएका कतिपय संवादलाई फेसबुकमा सार्वजनिक गरेका थिए भने न्युज २४ टेलिभिजनले रिपोर्ट बनाएरै प्रशारण गरेको थियो ।
पीडितलाई सहयोग गर्दै आएकी अधिकारकर्मी गीता बरालले रुकुको सामाजिक रुपमा चरित्र हत्या गर्ने बोहराले माफी माग्नुपर्ने र आफ्नो सामाजिक सञ्जाललगायत सञ्चारमाध्यमबाट कसैलाई बचाउनका लागि चेलीको अस्मिता बेच्ने काम गर्दिन भन्नुपर्ने बताएकी छन् ।
अहिले पनि दबाब दिने र फकाउने काम भएको खुलासा गरेकी उनी थप्छिन्,‘खाना खुवाएर, कोठा भाडा तिरिदिएर, लजको भाडा दिन्छु भनेर हामी फकिनेवाला छैनौं । रुकुको आत्माले माफी दिनुपर्छ ।’
बरालको अग्रसरता र सहयोगका आधारमा नै कार्कीले अदालतसम्म फेस गरेकी थिइन् । उनलाई महिला अधिकार र उसको अस्मितामाथि खेलवाड गरिनु हुन्न भन्नेसहितका कानुनी कारबाहीमा कानुनकर्मी निमा गिरीको साथ थियो ।
एउटै मुद्दामा लामिछानेलाई ५ लाख तथा युवराज कँडेललाई तीन लाख धरौटी बुझाएर हिरासतमुक्त गरेको अदालतले कार्कीका हकमा भने साधारण तारिख मात्र दिएको थियो ।
कानुन व्यावसायी बोर्णबहादुर कार्कीका अनुसार कमजोर प्रमाण भएका व्यक्तिका हकमा अदालतले साधारण तारिख दिने गरेको छ । यस अर्थमा कँडेल र लामिछानेविरुद्धका प्रमाण पुडासैनि आत्महत्या प्रकरणमा कार्कीको भन्दा पनि बलियो गरी जिल्ला सरकारी वकिलको कार्यालयले प्रस्तुत गरेको बुझिन्छ ।
अर्कातिर, हिरासतमुक्त भएका लामिछानेलाई जीत भन्दै फूलमाला गरिएका पनि उनका आफन्त कलाकार र कतिपय समर्थक कार्कीका हकमा भने उदार देखिएनन् ।
(विभिन्न मिडियामा पीडित कार्की खुलेका कारण हामीले तस्बिर सार्वजनिक गरेका हौं– सम्पादक)
यो पनि पढ्नुहोस्















प्रतिक्रिया