बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

पुडासैनी आत्महत्या प्रकरणमा प्रताडित बनाइएकी रुकु !

दैनिक नेपाल २०७६ भदौ ६ गते १३:२६

काठमाडौं, ६ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका तीन जना मध्येकी अस्मिता कार्की (रुकु)लाई पक्ष र विपक्षको बहसले हानि गरेको छ ।

प्राप्त भएको भिडियोमा रुकुको सबै परिचय खुलाउँदै पुडासैनीले कारबाहीको माग गरेका थिए । प्रेम सम्बन्ध रहेको खुलाएका थिए । तर, उनीहरूको सम्बन्ध शारिरीक थियो भन्नेचाहिँ पुडासैनीले भिडियोमा बताएका थिएनन् ।

तर सिधा कुरा जनतासँगका निर्माता दिपक बोहराले पुडासैनी र रुकुको च्याट ‘स्क्रिनसर्ट’ यसै प्रकरणमा पक्राउ गरिएका तर केन्द्रविन्दुमा राखिएका कार्यक्रम प्रस्तोता रवि लामिछानेबारे प्रष्टिकरण दिने क्रममा राखिदिए । उक्त स्क्रिनसर्टमा पुडासैनी र रुकुबीच शारिरीक सम्बन्ध समेत रहेको भन्ने उल्लेख छ । पुडासैनीबाट पठाइएको म्यासेजको त्यो स्क्रिन सर्ट राखेर लामिछानेलाई जोगाउनका निम्ति रुकुको व्यक्तिगत चरित्रमा दाग लगाउँदै गोपनियता भंग गरिएको हो ।

सांकेतिक तस्बिर

रुकुले एउटा अनलाइन न्युज पोर्टलमा आफ्नो गोपनियता भंग भएको भन्दै कारबाहीको माग गरेको समाचार प्रकाशित भएको थियो । रुकुलाई उदृत गर्दै उक्त पोर्टलले त्यो च्याट सिधा कुरा जनतासँगका क्यामेराम्यानलाई पठाइएको पुरानो म्यासेज थियो । पुडासैनीलाई सजग बनाउनका लागि आफूले उक्त टिमलाई म्यासेज पठाएको बयान उनले पोर्टललाई दिएकी थिइन् ।

रवि हाई हाई, अरुबारे गाईँ न गुँई

अनुसन्धानका क्रममा थुनामा राखिएका लामिछाने, युवराज कँडेल र रुकुमाथिको उजुरी एउटै हो । तर पक्ष र विपक्षको बहसमा लामिछानेलाई केन्द्रविन्दुमा राखिएको छ ।

उनका समर्थकले अन्यबारे कुनै टिप्पणी नगरी लामिछानेलाई निशर्त रिहाईको माग मात्र गरेका छैनन्, अनुसन्धान नै नियोजित हिसाबमा भएको बताएका छन् । अन्यको विषयमा भने केही बोलिएको छैन ।

लामिछाने पत्नी निकिता पौडेलले पनि पतिलाई मात्र फसाइएको भन्ने प्रकृतिको उजुरी तयार पारेकी थिइन् । तर प्रहरीले लिएको छैन । यस्तै, लामिछानेका दाजु हरिशरण लामिछानेले एक अन्तरवार्ताका क्रममा रुकुलगायतका विषयमा भने खासै चासो दिएर बोलेका छैनन् ।

उता लामिछानेलाई कानुनी दायरामा उभ्याउनुपर्छ भन्ने समूहले पनि अन्यका विषयमा खासै केन्द्रमा राखेर बहस गरेका छैनन् । प्रहरीले भने तीनै जनाको बयान लिइरहेको छ ।

यता लामिछानेलाई भेट्न पुगेका कतिपय नाम चलेका कलाकारले पनि न्यायाधीश पारमा दिएको बयानमा रुकुको गोपनियता भंग हुँदा परेको असरका विषयमा बोलेका छैनन् । मदनकृष्ण श्रेष्ठ, श्वेता खड्का, रामकृष्ण ढकाललगायतले लामिछानेलाई भेटेका थिए ।

उनीहरूले लामिछाने दोषी नभएको बताउँदै आएका छन् । तर सोही प्रकरणमा पक्राउ गरिएका कँडेल र रुकुका सन्दर्भमा भने केही पनि बोलेका छैनन् ।

अनुसन्धानका क्रममा रहेका व्यक्ति विशेष निर्दोष छ वा छैन भन्ने विषय अदालतको हुन्छ । अदालती प्रक्रियामा आफूलाई विश्वास रहेको बताएका रविका दाजु हरिशरण भन्छन्,‘अनुसन्धानका अन्य पाटामा प्रहरी नलागेको हो भन्ने अनुभव भएको छ, अदालतमाथि विश्वास छ ।’

लामिछानेले रुकुसँग कुनै पनि प्रकारको चिनजान नरहेको बयानका क्रममा बताएका थिए । प्रहरी अनुसन्धानका क्रममा न्युज २४ टेलिभिजनबाट पटक–पटक उनीसँग कुराकानी भएको फेला परेको विवरणहरुमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित