नयाँ दिल्ली, १० फागुन । संयुक्त राष्ट्र सङ्घको मौसम परिवर्तन सम्बन्धी निकायका प्रमुख अधिकारी राजेन्द्र पचौरीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि र यस विषयमा प्रहरीले अनुसन्धान आरम्भ गरेपछि आउँदो साता केन्यामा आयोजना हुने बैठकमा उहाँ अनुपस्थित हुने जानकारी अधिकारीहरूले आइतबार दिएका छन् ।
नोबेल पुरस्कार विजेता मौसम परिवर्तनसम्बन्धमा अन्तरसरकारी समूह ९आईपीसीसी० का अध्यक्ष पचौरीको ध्यान अन्यत्र आवश्यक भएकाले उहाँ बैठकमा अनुपस्थित हुनुहुने संयुक्त राष्ट्र सङ्घको उक्त समूहले जानकारी दिएको छ ।
पचौरीको दिल्लीस्थित अनुसन्धान संस्था दी इनर्जी एन्ड रिसोर्स इन्स्टिच्युट ९टेरी०का २९ वर्षीया एक महिला अनुसन्धानकर्ताले आफूमाथि ७४ वर्षीय पचौरीले यौन दुव्र्यवहार गरेको आरोप लगाएको दिल्ली प्रहरीले जानकारी दिएपछि उहाँको अनुपस्थितिको निर्णय भएको बताइएको छ ।
दिल्लीका प्रहरी प्रवक्ता राजन भगतले एक महिलाले एक साताअगाडि पचौरीविरुद्ध यौनजन्य दुव्र्यवहारका विषयमा प्रथम सूचना प्रतिवेदन दर्ता गरेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
यी महिला कर्मचारीले पचौरीले इमेल, टेक्स्ट तथा ह्वाट्सएप सन्देशसहित निरन्तर रूपमा अनुचित व्यवहार गरेको आरोप लगाएको प्रहरीले जानकारी दिएको छ ।
पचारीले यी सबै आरोप अस्वीकार गर्दे आफ्नो इमेल तथा मोबाइल फोन ह्याक भएको दाबी गर्नुभएको छ ।
दिल्ली उच्च अदालतले सोमबारसम्मका लागि पचौरीलाई पक्राउबाट अन्तरिम सुरक्षा प्रदान गरेपछि उहाँले सम्भावित पक्राउ पर्न नदिन जमानतका लागि तल्लो अदालतमा निवेदन दिने अनुमान गरिएको अर्का एक प्रहरी अधिकारीले बताए ।
ती प्रहरी अधिकारी आमसञ्चारसँग बोल्ने अधिकृत नभएकाले उनले आफ्नो परिचय नदिने सर्तमा पचौरी यस्तो जमानत प्राप्त गर्न दिल्लीमा हुनु आवश्यक भएको बताए ।
पचौरीको कार्यालयले यस विषयमा प्रतिक्रिया दिएको छैन ।
पचौरीले आईपीसीसीलाई भारतमा आफ्नो ध्यान आवश्यक भएकाले आउँदो साता नाइरोबीमा यस संस्थाको पूर्णबैठकलाई आफूले अध्यक्षता गर्न नसक्ने जानकार दिएको यस संस्थाले शनिबार एक विज्ञप्ति प्रकाशन गरी उल्लेख गरेको छ ।
पचौरीले डिसेम्बर महिनामा पेरिसमा मौसम परिवर्तनसम्बन्धी बैठकको आयोजना गर्ने तयारी गरिरहेको अवस्थामा यो समय उहाँका लागि निकै महत्वपूर्ण समय भएको छ । उक्त बैठकमा पृथ्वीको तापक्रम बढ्न नदिन विश्वका नेताहरूले एक विश्वव्यापी सम्झौता गर्ने अनुमान गरिएको छ ।
मौसम परिवर्तनसम्बन्धी भारतका यी वरिष्ठ विशेषज्ञ सन् २००२ मा आईपीसीसीमा प्रवेश गर्नुभएको हो र उहाँ सन् २००८ मा दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनुभयो ।
पचौरीले यसअघि पृथ्वीको तामक्रम बढेको विषयमा गलत तथ्याङ्क प्राप्त भएको भनी चर्चा पाउनुभएको थियो भने उहाँले यौन, पुनजन्म तथा हलिउडका एक अभिनेत्रीको जीवनका विषयमा एक उपन्यास लेख्नुभएको थियो । रासस/एएफपी













प्रतिक्रिया