सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुमा दुई जना अध्यक्ष चयन भएका छन् ।
एकैदिन फरक स्थानमा सम्पन्न दुई वटा अधिवेशनबाट नेविसंघमा दुई जना अध्यक्षसहित दुईवटै समिति चयन भएका हुन् । नेलेमा सम्पन्न अधिवेशनबाट अस्विनबाबु थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ भने सल्लेरीमा सम्पन्न अधिवेशनबाट बाबुराम आचार्यको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।
थापा अध्यक्ष रहेको जिल्ला कार्य समितिमा उद्योग राई सचिव चयन भएका छन् भने बाँकी मुख्य तीन पद पछि छनोट गर्ने जनाइएको छ । यता आचार्य अध्यक्ष रहेको जिल्ला कार्य समितिमा भने उपाध्यक्ष, सचिव र सहसचिव पदमा दुई÷दुई जना छनोट गरिएको सार्वजनिक गरिएको छ ।
दुई वर्षअघिदेखि विवादमा रहेर समानान्तर समिति रहँदै आएको नेविसंघमा यसपटक एकैदिन दुई वटा अधिवेशन सम्पन्न भएको हो । अध्यक्षमा चयन भएपछि आचार्य र थापा दुवैले आफ्नो समिति आधिकारिक भएको दाबी गरेका छन् ।
नेपाली काँग्रेसको एकीकरणपछि पनि मिल्न नसकेका पार्टीका जिल्ला सभापति आङ्गेलु शेर्पा र सभासद् बलबहादुर केसी समर्थित विद्यार्थी छुट्टाछुट्टै समितिमा रहँदै आएका छन् । सल्लेरीमा सम्पन्न अधिवेशनमा सभापति शेर्पा र नेलेमा सम्पन्न अधिवेशनमा सभासद् केसी उपस्थित रहनुभएको थियो ।














प्रतिक्रिया