२८ आश्विन २०८३, बुधबार

बोल्दाबोल्दै ढले काँग्रेस सभासद्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhyan-Govinda-Ranjit

काठमाडौँ । सँधै आक्रामक रुपमा प्रस्तुत हुने नेपाली काँग्रेसका सभासद् ध्यानगोविन्द रञ्जित कुर्सीबाट लडेका छन् ।

संविधानसभा, अभिलेख अध्ययन तथा निक्र्योल समितिको बैठक चलिरहँदा समितिका सदस्य ध्यानगोविन्द रञ्जित कुर्सीबाट पल्टिएका हुन् । तत्कालीन संविधानसभाको संवैधानिक समिति, अवधारणापत्र र प्रारम्भिक मस्यौदासम्बन्धी प्रतिवेदन र विवाद समाधान सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनका विषयमा छलफल हुँदै थियो । उपसमितिका संयोजक भीम रावलले सार्वभौमसत्ता र राजकीय सत्ताका विषयमा समितिका सदस्यले उठाएको प्रश्नको जबाफ दिँदै थिए । त्यति नै बेला रञ्जित बसेको कुर्सीको खुट्टा भाँच्चियो । र, उनी भुईंमा लड्न पुगे ।

त्यसपछि समितिका सभापति विष्णु पौडेललगायत अन्य सदस्यले रञ्जितलाई लडेको स्थानबाट उठाए । र तत्कालै सभापति पौडेलले बैठक सञ्चालन हुनुपूर्व सबै कुर्सी ठीक अवस्थामा छ कि छैन, नभए हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

समितिका सभापति विष्णु पौडेलको अध्यक्षतामा भएको बैठकमा उपसमितिका संयोजक भीमबहादुर रावलले पेश गरेको प्रतिवेदनलाई संविधानसभा पठाउने निर्णय गरिएको छ । प्रतिवेदनमाथि मानबहादुर विश्वकर्मा, दीपक बोहरा, श्रीमाया थकाली, अग्निप्रसाद सापकोटा, राजेन्द्रप्रसाद पाण्डेलगायतले आफ्नो सुझाव राखेका थिए ।

बैठकमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण र सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिको प्रतिवेदन अध्ययन उपसमितिको प्रतिवेदन २०७१ लाई संयोजक उषा गुरुङले प्रस्तुत गरिन् । प्रतिवेदनमा राज्यका नीति, निर्देशक सिद्धान्त, सीमान्तकृत समुदाय र अल्पसङ्ख्यक समुदायको अधिकार, धर्मसम्बन्धी र सांस्कृतिक तथा शिक्षासम्बन्धी हक, जातीय भेदभाव तथा छुवाछूतविरुद्ध र समानताको हक, नागरिकता, राष्ट्रभाषा, राष्ट्रको परिभाषा र प्रस्तावका विषयमा सहमति भएको र असहमति भएका बुँदालाई निक्र्योल गरिएको छ ।