बुटवल । रुपन्देहीको ग्रामीण क्षेत्रकी एक बालिका भारतीय जि–सिनेमा टेलिभिजनबाट प्रसारित हुँदै आएको चर्चित नृत्य प्रतियोगितामा उत्कृष्टताको नजिक पुग्न सफल भएकी छिन् ।
स्थानीय रुद्रपुरकी ११ वर्षीया बालिका तेरिया फौजा मगर जि सिनेमाबाट प्रसारण हुने रियालिटी इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर– ३ मा करोडौँ दर्शक र निर्णायकको मन जितेर अन्तिम आठौँ स्थानमा पुग्न सफल भएकी छिन् ।
प्रतियोगितामा भाग लिन आवेदन दिएका १४ वर्ष मुनिका तीन लाख बालबालिकामध्ये ४० हजार जना छनोटमा परेका थिए । तीमध्ये तेरिया नेपालबाट छनोटमा पर्ने एक्ली हुन् । भारतीय टेलिभिजनबाट प्रसारित हुने विभिन्न कार्यक्रममा नेपालीमूलका भारतीय सहभागी भएर प्रतियोगिता जित्न सफल भए पनि डिआइडी प्रतियोगितामा सहभागी हुने र उत्कृष्ट १० भित्र पर्ने उनी पहिलो हुन् ।
भारतको मुम्बईमा भएका तीन वटा प्रतियोगिताका चरण र नयाँ दिल्लीमा भएका प्रतियोगिताका विभिन्न चरण पार गर्दै उनी टप टेनमा छनोटमा पर्न सफल भएकी हुन् ।
बुटवलस्थित बागेश्वरी संगीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । उनकी आम सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन भने बाबु रोजगारीका लागि विदेशमा छन् ।

उनलाई प्रतियोगितामा भाग लिने वातावरण मिलाउन उनका हजुरबुबा कृष्णले ठूलो मिहिनेत गरेका हुन् । उनले मुम्बईमा प्रतियोगिता आयोजकसँग सम्पर्क गरी नातिनी नाचेको सिडी आयोजकलाई पठाएपछि आयोजकले तेरियालाई बोलाएका हुन् ।
तेरियाले आगामी शनिबार सातौँ स्थानका लागि प्रतिस्पर्धा गर्दै छिन् । उनका हजुरबुबा भने नातिनीले सातौँ स्थान मात्रै नभएर प्रथम स्थान नै जित्ने विश्वास व्यक्त गर्छन् । उनी भन्छन्, “दशौँ स्थानपछिका प्रत्येक छानोट चरणमा दर्शकहरुको भोटले उनलाई पहिलो स्थान नै दिलाएको छ ।
प्रतियोगितामा विजयी भएमा तेरियाले भारु ५० लाख र कारसहित थुप्रै पुरस्कार पाउने छिन् ।
भिडियो हेर्नुहोस्:
https://www.youtube.com/watch?v=KSa4gqnWJbY
https://www.youtube.com/watch?v=dyY9dbppoJk














प्रतिक्रिया