काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी स्विजरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य सङ्गठनको ६७ औ सम्मेलनमा भाग लिई बिहीबार बिहान स्वदेश फर्किनुभयो ।
हावापानी र स्वास्थ्य’ भन्ने नाराका साथ यही जेठ ५ गतेदेखि सुरु भएको सो सम्मेलनमा विश्वव्यापी स्वास्थ्य समस्या, सहस्राब्दी विकास लक्ष्य हासिल गर्न भएका प्रयास, उपलब्धि तथा सन् २०१५ पछिको स्वास्थ्यसम्बन्धी विकासका बारेमा छलफल भएको थियो । सम्मेलनमा विश्वका १९४ देशका करिब तीन हजार प्रतिनिधिको सहभागिता थियो ।
सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी समितिमा निर्वाचित गर्न दक्षिणपूर्वी एसियाका देशहरूले प्रस्ताव गरेको स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
सम्मेलनमा नेपालले सहस्राब्दी विकास लक्ष्यअन्तर्गत मातृ तथा शिशुमृत्युदर कम गर्न, सर्ने तथा नसर्ने रोग नियन्त्रणका लागि सञ्चालन गरिराखेका कार्यक्रमका बारेमा अवगत गराएको उहाँले बताउनुभयो ।
सम्मेलनका क्रममा मन्त्री अधिकारीले असंलग्न राष्ट्रहरूको स्वास्थ्य मन्त्रिस्तरीय सातौँ बैठकमा पनि भाग लिनुभएको थियो । सो बैठकमा अतिकम विकसित राष्ट्रहरूले सर्वसुलभ, सुरक्षित, प्रभावकारी तथा गुणस्तरीय औषधिको उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धिलाई विशेष रूपमा उठान गरिएको मन्त्री अधिकारीले बताउनुभयो ।
सन् २०१५ पछि स्वास्थ्यको अवस्थालाई थप सुधार गर्न नेपालले नयाँ स्वास्थ्य नीति मस्यौदा गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।














प्रतिक्रिया