काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा जबरजस्ती पेल्न खोजे सत्तारुढ दलहरुलाई ठेगान लगाउने चेतावनी दिनुभएको छ ।
३० दलिय मोर्चाका कार्यकर्तालाई प्रशिक्षण दिदै उहाँले वार्ताको नाममा धोकाधडी गर्ने सत्तारुढ कांग्रेस-एमालेलाई ठेगान लगाउने बताउनुभएको हो । ‘हामीलाई अल्पमत बनाएर सत्तारुढ दलहरुले पेल्न खोजे, त्यसको प्रतिकार गर्न हामीहरु तयार हुनुपर्छ ।’ उहाँले भन्नुभयो । उहाँले आन्दोलनबाटै सत्तारुढ दलहरुलाई ठेगान लगाउने चेतावनी दिनुभएको हो ।
जनतालाई अधिकार दिने कि नदिने भन्ने विषयमा नै दलहरुबीच तीव्र मतभेद रहेको उहाँको भनाई थियो ।
प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सम्झौता नै संविधान निर्माणको आधार भएकाले त्यसबाट पछाडि नहट्न नेपाली काँग्रेस र नेकपा एमालेलाई प्रचण्डले आग्रह समेत गर्नुभयो ।
उहाँले संविधानसभामा बहुमत र अल्पमतको खेल नहुने भन्दै उहाँले केही दलले नियमित संसद् बनाउन खोजेको भएपनि त्यो सपना पूरा नहुने उल्लेख गर्नुभयो । वार्ताको नाममा धोकाधडी गर्ने र फेरि पनि जनतालाई अधिकार नदिने पक्षमा सत्ताधारी दल लागेको आरोप लगाउदै उहाँले सार्थक संवादका लागि विश्वासिलो वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।















प्रतिक्रिया