११ कार्तिक २०८३, बुधबार

पाँच वर्षदेखि सडकमा मगन्ते जीवन जीउन बाध्य छन् उनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-balabalikaकाठमाडौं, ३ फागुन । झापा घर भएका १२ वर्षीय रूपक सापकोटा सानै हुँदा आमा दीलकुमारीले दोस्रो विवाह गर्नुभयो ।

आमाले विवाह गरेलगत्तै बाबु बलदेवले पनि दोस्रो विवाह गर्नुभयो ।

दीलकुमारी र बलदेव दुवै आपसमा मिल्न नसक्ने भएपछि अर्को विवाह गरे तर रूपकको कुनै वास्ता गरेनन् ।

आफ्ना ७० वर्षीय हजुरबा र हजुरआमासँग केही महिना गुजारा गरी घर छाडेर सडकमा आउन बाध्य रूपकले भने, ‘म सानै हुँदा बाबुआमा झगडा गरेर अर्कोसँग विवाह गरे, मेरोबारेमा केही पनि भनेनन्, हजुरबा हजुरआमासँग बस्दा खानै दिने थिएनन्, त्यसपछि मागेर खान थालेँ ।’

जमल, ठमेल, रत्नपार्क र बागबजारलगायत उपत्यकाका विभिन्न स्थानमा मागेर दैनिकी चलाउँछन् रूपक ।

‘घरमा खान नपाएर बाटोमा मागेर खान थालियो, कहिले काहीँ त मलाई पनि पढ्न मन लाग्छ, अब साथीहरू पनि छोड्न मन लाग्दैन, कति दाइ दिदी आएर हामीसँग जाउँ हिँड, खान दिन्छौँ, पढाउँछौँ भन्नुहुन्छ, जानै मन लाग्दैन’, रूपक भन्छन् ।

त्यसैगरी, ठमेल क्षेत्रको सडकमा रात काट्न बाध्य १४ वर्षीय इमान राईलाई आफ्ना बाबुआमा र घर कहाँ हो भन्नेसमेत थाहा छैन ।

‘मलाई कसले जन्मायो, बाआमा नै थाहा छैन, कोही खोज्न पनि आउँदैनन्’, पाँच वर्षदेखि यसरी सडकमा मगन्ते जीवन जीउन बाध्य राई भन्छन् ।

यसरी विभिन्न कारणले सडकमा मगन्ते जीवन जिउन बाध्य इमान र रूपक त उदाहरण मात्र हुन् ।

यस्ता धेरै बालबालिका सडकमै मागेर खान वा सडकमै रात काट्न बाध्य मात्र होइन यौनशोषणमा समेत पर्ने गरेका छन् ।

बालयौन दुव्र्यवहारमा परेका २६० जना बालबालिकाको उद्धार गरिसकिएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव तथा महिला सशक्तीकरण तथा बालबालिका महाशाखाका प्रमुख राधिका अर्यालले ‘सडक बालबालिका उद्धार, सञ्चालन व्यवस्थापन कार्यविधि–२०७१’ ल्याउने तयारी भइरहेको हुँदा अब छिट्टै नै सडक बालबालिकाको व्यवस्थापन तथा उद्धार गरिने जानकारी दिनुभयो । उहाँले कार्यविधि कार्यान्वयन मुख्य चुनौतीको विषय भएको हुँदा सहयोगका लागि अपील पनि गर्नुभयो ।

गरिबी, पारिवारिक विचलन, देखासिकी, घरपरिवारको बेवास्तालगायत अन्य विभिन्न कारणले पूर्णरूपमा सडकमा आश्रित, परिवारसहित सडकमा रहेका तथा परिवारसँग सम्पर्कमा रहे तापनि सडक गतिविधिमा संलग्न बालबालिकाले सडकलाई नै जीविकोपार्जनको माध्यम बनाउँदै आएको अधिकारकर्मीहरूको भनाइ छ ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले राजधानी, उपत्यका वा कुनै एउटा सहरलाई मात्रभन्दा पनि सिङ्गो मुलुकलाई नै सडक बालबालिका मुक्त राष्ट्र बनाउनका लागि राज्य, सरकार र सम्बन्धित सङ्घ\संस्था एकीकृत रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सडकमा रहेका बालबालिकालाई पटकपटक उद्धार गर्दा पनि घट्नुको सट्टा झन्झन् बढ्दै गएको पाइन्छ । त्यसैले सडकमा आइसकेपछि उद्धार गर्नुभन्दा सडकसम्म आउन नदिने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता देखिन्छ ।