११ कार्तिक २०८३, बुधबार

एकै गाउँका दशको अर्बुदबाट मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ३ फागुन । चौघडा गाविसमा पछिल्लो चार वर्षको अवधिमा अर्बुदरोगको कारण दश जनाको मृत्यु भएको नेपाल अर्बुदरोग निवारण संस्थाले जनाएको छ ।

धूमपान, सुर्ती र जाँडरक्सीको सेवन, धुवाँधुलो र खाद्यपदार्थमा भएका मिसावट, तरकारीमा विषादीको अधिक प्रयोगजस्ता कारणले अर्बुदरोग लागी तिनको मृत्यु भएको संस्थाको भनाइ छ ।

जिल्लाका सबै गाविसमा आधिकारिक अध्ययन अनुसन्धान नभए पनि जिल्लामा अर्बुद रोगको सङ्क्रमणको क्रम बढिरहेको संस्थाको जिकिर छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले अर्बुदरोग सङ्क्रमण बढिरहेको र गरिब नेपालीले धान्नै नसक्ने भएकाले यस्तो रोगको उपचार सरकारले निःशुल्क गरिदिनुपर्ने बताउनुभयो ।

अर्बुद रोगका बारेमा ग्रामीण क्षेत्रसम्म जनचेतना फैलाउन नसक्दा अकालमा ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दै गएको पाइन्छ ।

समयमै उपचार गरे रोग निको हुने भए पनि कतिपय बिरामीले अस्पताल नै नपुगी मृत्युवरण गर्ने गरेको संस्थाले जनाएको छ ।

रोग लाग्नुभन्दा अगाडि नै रोग लाग्दैछ भन्ने जानकारी सर्वसाधारणलाई हुने भए पनि परीक्षण नगराउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

नब्बे प्रतिशत रोगीको उपचार नेपालमै हुने भए पनि चिकित्सकले कमिसनको प्रलोभनमा परेर विदेशमा उपचार गर्न पठाउने परम्पराको थालनी भएको भन्दै यसतर्फ सचेत हुनसमेत संस्थाले सबैमा आग्रह गरेको छ ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा प्रकाशराज न्यौपानेले जीवनशैली, खानपान र स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच नपुगेसम्म रोगीको सङ्ख्या घट्न नसक्ने धारणा राख्नुभयो ।

समयमै रोग पत्ता लगाएर उपचार गर्दा कम खर्चमा रोग निको पार्न सकिने भए पनि अर्बुदरोगका चार चरणमध्ये अन्तिम अवस्थामा मात्र उपचार गर्न आउने गरेकाले रोग निको पार्न समस्या हुने उहाँले बताउनुभयो ।

डा न्यौपानेका अनुसार महिलामा पाठेघर र स्तनको अर्बुदरोग बढी देखिएको छ ।

यसबाहेक चुरोट र सुर्तीका कारण घाँटी, जिब्रो, शरीरका भित्री भाग र तरकारीबालीमा हालिने विषादीबाट छाला तथा बाहिरी अङ्गमा हुने अर्बुदरोग नेपालमा बढिरहेको बताइएको छ ।

संस्थाका जिल्ला अध्यक्ष मधु अधिकारीले अर्बुद रोगका बारेमा जनचेतना फैलाउनका लागि चौघडामा बृहत् शिविर आयोजना गरिएको बताउँदै रोगबाट बच्न र बचाउनका सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

चौघडामा शनिबार सम्पन्न दुईदिने अर्बुदरोग शिविरमा ६४७ जनाको परीक्षण भएको छ ।