सिरहा । फोहोरमैला व्यवस्थापनका लागि लहान नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य सुरु गरेको छ ।
नगरपालिकाले लहान नगरपालिका– ४ स्थित खुट्टी खोलाको छेउमा व्यवस्थापन केन्द्र निर्माण गर्न लागेको हो ।
लहान नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खान्याहाङले ५२ लाखको लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सुरु भएको जानकारी दिए । उनले भने, “तारबार गरेर व्यवस्थित बनाउने काम सुरु भएको छ । त्यहाँ फोहोर छुट्याउने दुई वटा घर (सेड) निर्माण गर्ने योजना पनि छ ।”
“फोहोरमैला केन्द्र निर्माण भइसकेपछि त्यहाँ विभिन्न खालका करिब एक हजार रुख रोप्छौँ”, कार्यकारी अधिकृत खान्याहाङले भने ।
केन्द्रमा फोहोरमैलासँगै आउने प्लास्टिकजन्य वस्तु छुट्याएर बिक्री गरी त्यसबाट आम्दानी पनि गर्ने नगरपालिकाको योजना रहेको छ । लहान नगरपालिकामा सङ्कलन हुने फोहोर यसअघि खुट्टी खोलामा फाल्दै आइएको थियो ।
यसैबीच फोहोर व्यवस्थापन केन्द्र बस्ती नजिकै बनाउन लागेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । मङ्गलबार लहान नगरपालिका–४ का सयौँ सर्वसाधारणले नगरपालिकाको कार्यालयमा पुगेर निर्माण कार्य रोक्न माग गरेका छन् ।













प्रतिक्रिया