चितवन । चितवनमा न्यूनतम मापदण्ड पुरा नगरी मासु व्यवसाय सञ्चालन गरेको पाइएको छ । स्थानीय प्रशासनले ध्यान नदिँदा उपभोक्ताहरु अस्वस्थ्यकर मासु खान बाध्य भएका छन् ।
मासु व्यवसायीले मापदण्ड पूरा गर्नु त कहाँ हो कहाँ बरु गुणस्तरहीन मासु बिक्री गरिरहेका छन् । अस्वस्थ्यकर मासु बिक्री गर्ने व्यवसायीलाई कानुनको दायरमा नल्याएकोमा स्थानीय उपभोक्ता आक्रोशित भएका छन् ।
स्वास्थ्यको दृष्टिले अति संवेदनशील मासु तथा मासुजन्य वस्तु व्यवसायमा व्यवसायीको चरम लापरबाही देखिएपछि आज भरतपुर नगरपालिकाको अगुवाईमा चितवनका प्रमुख बजारमा अनुगमन समेत गरिएको छ ।
अनुगमनका क्रममा पशु वधशाला भित्र प्रयोग हुने भाडा र उपकरण सफा नभएको, नापतौलका उपकरण बिग्रिएको, पसलमा स्पष्ट रुपमा मूल्य सूची, इजाजत पत्र, नवीकरण मिति तथा स्थानीय निकायले तोकेको अन्य विवरण समेत नराखेको पाइएको छ ।
स्थानीय यमुना जापाले आफूहरु फोहर भएको देख्दा पनि बाध्य भए मासु किनेर लैजानु परेको बताइन् ।
टोलीले नारायणगढ क्षेत्रका १० वंगुर, रागो, कुखुरा र खसीको मासु पसलमा अनुगमन गरेको थियो ।
भरतपुर नगरपालिका क्षेत्रमा खुल्ला सडक छेउछाउमा न्यूनतम मापदण्ड समेत पुरा नगरी पशुवध गर्ने क्रम बढेको जनगुनासो भएपछि मासु पसलको अनुगमन सुरु गरेको भरतपुर नगरपालिकाका वतावरण शाखा प्रमुख विराट घिमिरेले बताए । उनले पशु बधशाला र मासु जाँच ऐन, २०५५ विपरित मासु व्यवसायीले पशुवध गर्ने गरेको समेत जानकारी दिए ।
भरतपुर नगर क्षेत्रमा ६ सय बढी मासु पसल भएपनि २ सयले मात्रै दर्ता गरेर व्यवसाय सञ्चालन गरेका छन् ।
अनुगमन टोलीले लायन्सचोकमा रहेको डी.के. बंगुर मासु पसल, मिलिजुली बंगुर मासु पसल, चितवन मिट हाउस, चमई मिट शप, हिमबहादुर खत्रीले दर्ता नगरी चलाएको राँगाको मासु पसल, राज फ्रेस हाउस, भान्जा गोरखपुरी मिट सप्लार्यस्, जमिल मिट सप्लार्यस्, खुशी मिट सप्लार्यस र भान्जा मिट सप्लार्यसमा अनुगमन गरेको थियो ।
पसलहरुमा गुणस्तरहीन र मापदण्डविपरित मासु बेचिरहेको भेटिएको जिल्ला पशुसेवा कार्यालय चितवनका पशु विकास अधिकृत हरेकृष्ण शाहले बताए ।











प्रतिक्रिया