२० कार्तिक २०८३, शुक्रबार

मोबाइलबाटै सडक बत्तीको कन्ट्रोल गर्ने प्रविधि ललितपुरमा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ललितपुर, १९ चैत । ललितपुरमा मोबाइलबाटै ट्रफिक लाइटको कन्ट्रोल गर्ने कार्यको शुभारम्भ भएको छ । ललितपुरको जावलाखेलमा मंगलबारबाट यो प्रविधिको सुरु भएको भएको हो । यो प्रविधि नेपालमै पहिलो हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक प्रहरीलाई मोवाइल सेट प्रदान गरेर यो कार्यको शुभारम्भ गरेका हुन् । सवारी चाप अनुसार ट्राफिक व्यवस्थापनका लागि मोबाइलबाटै सडक बत्तीको कन्ट्रोल गर्न सकिनेछ । यसका लागि ट्राफिकलाई प्रदान गरिएको उक्त सेटमा सडक बत्ती कन्ट्रोल गर्ने मोवाइल एप्स राखिएको छ ।

एप्स जडित मोबाइलबाट मेयर महर्जनले अल्का अस्पताल अगाडी सडकमा केही मिनेट सडक बत्तीको कन्ट्रोल गर्ने प्रविधिको प्रयोग गरेर समेत अवलोकन गरे । त्यस लगत्तै मेयर महर्जनले त्यहाँ रहेका ट्राफिक कुन्दन कुमार शाहलाई उक्त सेट हस्तान्तरण गरे ।

सडकमा हुने सावारी साधानको चाप अनुसार ट्राफिक प्रहरीले सडक बत्तीको कन्ट्रोल मोबाइलबाटै गर्न सक्नेछन् । सवारीको चाप हेरेर ट्राफिक प्रहरीले अटोमेटिक र म्यनुअल दुबै तरिकाबाट सडक बत्तीहरुको कन्ट्रोल गर्न सकिनेछ । सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग यो एप्स जडित मोबाइल रहनेछ ।

ललितपुर महानगरपालिकाले पावरटेक नेपाल र भूस्पर्श कन्ट्रक्सन प्रालिसँगको समन्वयमा यो प्रविधिको सुरुवात गरेको हो । अल्का अस्पताल चोकमा सुरु भएको यो प्रविधि अहिले परीक्षण मात्रै भएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।

यसअघि ललितपुर महानगरपालिकाले ६ जना ट्राफिक प्रहरीलाई यो प्रविधि सम्बन्धि तालिम समेत प्रदान गरिसकेको छ । यो प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने मेयर महर्जनले बताए । महर्जनले भने, ‘यो अहिले परीक्षणका लागि मात्रै हो । यसको सफलता हेरेर ललितपुर महानगरका अन्य १८/२० स्थानहरुमा समेत व्यवस्थापन गर्छाैँ ।’

महानगरलाई स्मार्ट सिटी बनाउने प्रयास मध्ये यो एउटा सानो प्रयास भएको उनले बताए । उनले भने ‘स्मार्ट सिटीको विभिन्न कम्पोनेन्ट मध्येको यो प्रविधि पनि एउटा हो ।’

अल्का अस्पताल अगाडीको चोकमा अहिले यो प्रविधि सुचारु छ । उग्रचण्डी मन्दिरपट्टिबाट आउने सडकमा ट्राफिकको सेन्सर समेत विछ्याइएको छ । त्यो सेन्टरमा गाडीको चक्का पर्नासाथ बत्ती बल्छ । सोही अनुसार ट्राफिकले मोबाइलबाटै व्यवस्थापन गर्नेछन् ।