म्याग्दी । म्याग्दीको घार गाविस–१, घोरेपानीका बासिन्दाको सक्रियतामा लाखौँ लगानी गरेर पदमार्ग निर्माण गरिएको छ ।
घोरेपानी गाउँ वरपरका घोरेटो बाटोलाई फराकिलो बनाएर ढुङ्गा विछ्याई दुई किलोमिटर पदमार्ग निर्माण गरिएको हो ।
उल्लेरी र धान्द्रुकतर्फबाट घोरेपानी जोड्ने पदमार्ग निर्माण सम्पन्न गरिएको छ । चित्रे हुँदै घोरेपानी पुग्ने र घोरेपानीदेखि पुनहिल पुग्ने तीन किलोमिटर पदमार्ग निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । घोरेपानी प्रवेश गर्ने चारवटा नाकामा प्रवेशद्वारा समेत निर्माण गरिएको छ ।
पदमार्ग र प्रवेशद्वारा निर्माणका लागि ४१ लाख लगानी भएको घोरेपानी होटल व्यवसायी समितिका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । योजनाका लागि जिविसबाट पाँच लाख मात्र सहयोग प्राप्त भएको थियो भने अन्य स्रोत स्थानीयले जुटाएका हुन् ।
साँघुरो र चिप्लो बाटोमा पर्यटक लडेर घाइते हुने समस्या रहेकामा दुङ्गाको सिँढी निर्माण गरिएकाले अब पर्यटकले सहज यात्रा गर्न सक्ने घोरेपानी होटल व्यवसायी समितिका सचिव टेकसर बुद्धुजाले जानकारी दिए ।
पुनहिल भ्रमण गर्ने पर्यटकबाट सहयोग र होटल व्यवसायीबाट चन्दा सङ्कलन गरेर पदमार्ग निर्माणका लागि आर्थिक स्रोत जुटाइएको अध्यक्ष पुनले बताए ।
समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित घोरेपानी र त्यहाँबाट एक घण्टा उकालो चढेपछि पुगिने पुनहिल पश्चिम नेपालको एक प्रसिद्ध पर्यटकीयस्थल हो । पदमार्ग र प्रवेशद्वारसँगै घोरेपानीदेखि पुनहिल जाने रुटमा दुईवटा विश्रामस्थलसमेत तयार गरिएको छ ।
घोरेपानी क्षेत्रमा भित्रने पर्यटकको सुविधाका लागि स्थानीयवासीले मगर सङ्ग्रहालय, सामुदायिक स्वास्थ्य क्लिनिक, फोहोर व्यवस्थापन र पुनहिलमा भ्यू टावर निर्माण गरिसकेका छन् ।











प्रतिक्रिया