
काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।
नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटका क्रममा मंगलबार प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट परो ।
‘कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर, के का लागिवार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्’, अोलीले भने, ‘जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए । कम्युनिष्टले युवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनुपर्ने ओलीको भनाइ छ । ‘कम्युनिष्टले त युवाहरुलाई कर्मशिल हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो’, उनले भने, ‘यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’
फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण व्यवसायीको टोली बालुवाटार पुगेको थियो ।
प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् । घटनाको बारेमा सरकारले छानविन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए ।













प्रतिक्रिया