२८ आश्विन २०८३, बुधबार

एमाओवादीको केन्द्रीय समिति १५१ सदस्यीय बन्यो, भट्टराई पक्षका १४ जना थपिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-prachanda

काठमाडौं । एकीकृत नेकपा माओवादीले केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले असन्तुष्ट नेता डा बाबुराम भट्टराईको मागअनुसार समिति विस्तार गर्न लागेको हो ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार सबै पक्षको माग र आग्रहअनुसार केन्द्रीय समिति विस्तार गरिएको हो ।

गत वैशाखमा सम्पन्न विराटनगर राष्ट्रिय सम्मेलनले ९९ सदस्यीय समिति बनाउने निर्णय गरेपनि नेता भट्टराई पक्ष सो मापदण्डमा असन्तुष्ट बनेपछि उक्त निर्णय उल्टिएको हो ।

एमाओवादीले सो निर्णयलाई गत साल सम्पन्न हेटौंडा महाधिवेशनको भावनाअनुसार भएको बताएको छ ।

यस्तै सोमबारको निर्णयअनुसार पार्टीको पदाधिकारीमा अध्यक्ष पुष्पकमल दाहाल, नेता भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महरा रहनुहुनेछ भने संसदीय दलको उपनेतामा टोपबहादुर रायमाझीलाई ल्याइनेछ ।

नेता भट्टराईलाई सोमबारको निर्णय अनुसार उपाध्यक्षमा नै राख्ने वा वरिष्ठ नेता बनाउने भन्ने सम्बनधमा भने विधानले गरेको व्यवस्थाअनुसार अगाडि बढ्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

वरिष्ठ नेता बनाउने हो भने विधान संशोधन गर्नुपर्ने एमाओवादी नेताहरुको धारणा छ । यस्तै एमाओवादीले केन्द्रीय समितिमा थप केही नयाँ अनुहारहरुलाई समेत मौका दिने भएको छ ।

ती नयाँ अनुहारमा लीलबहादुर थापा, सोनामसिंह स्याङ्तान, देवेन्द्र पराजुली, सूर्यमान दोङ, रामन्द्र शर्मा, दावा लामा, चित्रबहादुर श्रेष्ठ, राजकाजी गुरुङ, श्रीप्रसाद जगेबु, लक्की शेर्पा, नारायणी शर्मा, धनबहादुर मास्कीलगायत रहेका छन् ।

प्रवक्ता शर्माले सबै विवाद समाधान भएको र पार्टी अब पूर्णरुपमा एकताबद्ध भएर जाने बताउनुभयो ।

डा भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले सांगठनिक विवाद मिलेको जानकारी दिँदै अब पार्टी एकताबद्ध भएर जाने विश्वास व्यक्त गर्नुभयो ।