काठमाडौँ । राहदानी विभागले दैनिक छ हजार राहदानी यन्त्रले पढ्ने राहदानी (एमआरपी) बनाउन थालेको छ ।
सेवाग्राहीको चापलाई दृष्टिगत गरी विभागले दैनिक १२ घण्टा काम गरेर उक्त परिमाणमा राहदानी बनाउन थालेको हो ।
विभागको प्राविधिक सुदृढीकरणका साथै जनशक्ति थपिएसँगै सोमबारदेखि दैनिक छ हजार राहदानी बनाउन थालिएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए ।
यसअघि दैनिक चार हजारदेखि चारहजार ५०० को हाराहारीमा विभागले राहदानी बनाउँदै आएको थियो ।
सरकारले करार सेवामा १५ जना कर्मचारी उपलब्ध गराएपछि काम द्रुत गतिमा अघि बढेको उल्लेख गर्दै उहाँले दैनिक आठ हजार एमआरपी उत्पादन गर्ने लक्ष्यका साथ विभाग अघि बढिरहेको बताए ।
राहदानीका निम्ति भर्नुपर्ने फाराम ‘अनलाइन’ राखिएकाले आवेदन गर्नेको भीड पनि क्रमशः घट्दै गएको बताउँदै उनले तयार भएका राहदानी वितरण गर्न अझै पनि जनशक्तिको अभाव भने खट्किरहेको गुनासो गरे ।













प्रतिक्रिया