काठमाडौं । साउथ इण्डियन फिल्म ‘बाहुबली’मा प्रयोग भएका दृष्यहरूलाई नेपालमा पनि ‘भिएफएक्स’ प्रविधिमार्फत सजिलै हाल्न सकिने बताउँछन् अच्युत बजगाइँ । काभ्रेको मण्डन देउपुर नगरपालिका स्थायी घर भै काठमाडौंमा ‘एफएफएक्स’ प्रविधिसम्बन्धी काम गर्दै आएका बजगाइँले ‘बाहुबली’ फिल्ममा प्रयोग भएका दृष्यभन्दा पनि राम्रो र दक्ष काम गर्न सक्ने प्राविधिकहरू नेपालमा उत्पादन भैसकेको दाबी गरे । ‘हलिउड र बलिउडका प्राविधिक सरह काम गर्ने व्यक्ति नेपालमा पनि उत्पादन भैसकेका छन्’, उनले भने, ‘तर, हामीसँग प्राविधिकहरू उत्पादन भएपनि प्रविधि छैन ।’
नेपालमा भिएफएक्सका प्राविधिकहरू धेरै छैनन् । करीव दश जना जति व्यक्तिहरूले भिएफएक्स प्रविधिमा काम गर्न सक्छन् । उनीहरूले अहिलेसम्म गरेको काम राम्रो रहेको बजगाइँले बताए । नपत्याउँदा देखिन बजगाइँले नाम चलेका निर्माता, निर्देशक र कलाकारहरूका फिल्ममा भिएफएक्सको काम गरिसकेका छन् । र, प्रशंसा पनि पाएका छन् । उनको ध्यान भनेको फिल्मलाई कसरी राम्रो र दर्शकको मन जित्ने हो त्यसतर्फ केन्द्रित हुन्छ । भिएफएक्स प्रविधिले नै आजकाल फिल्मलाई राम्रो बनाउने गरेको छ ।
राम्रो क्वालिटीको भिएफएक्स प्रविधि फिल्ममा राख्ने हो भने लागत महँगो पर्न सक्छ । फिल्म निर्माताहरूले सकेसम्म भिएफएक्सको प्रयोग आवश्यक्ताअनुसार अत्यन्तै कम राख्ने गरेको उनको भनाइ छ । ‘भिएफएक्ससम्बन्धी काम गर्ने र राम्रो प्रविधि किन्ने हो भने एउटैलाई ५० लाखसम्म पर्छ । यो प्रविधि महँगो र सस्तो दुबै खालका छन्’, बजगाइँले भने, ‘हामीसँग कामचलाउ रेण्डरिङहरू मात्रै छन् । पूर्ण क्षमताको रेडण्रिङबाट काम भयो भने ती फिल्महरू देखाउने फिल्महरू नेपालमा तयार भैसकेका छैनन् ।’
अभिनेता भुवन केसीद्वारा निर्माण गरिएको फिल्म ‘क्याप्टन’मा भिएफएक्सको काम गरिरहेका बजगाइँले भने, ‘क्याप्टनको स्टेडियम बनाइ रहेका छौँ । एउटा स्टेडियम बनाउन हाम्रो टिमलाई ३–४ महिना लागि सक्यो ।’ ‘क्याप्टन’को भिएफएक्सको केही काम गर्न नेपाल बाहिर पनि पठाइएको छ ।
भिएफएक्सबाट फिल्ममा देखाइने काल्पनिक दृष्यहरूलाई सुन्दर तरिकाले राख्न सकिन्छ । मान्छे उडेको, बम ब्लाष्ट गरिएको, रगत निस्किएको, भित्ता फोडिएको जस्ता र अदभूत लाग्ने दृष्यहरू लाई भिएफएक्सबाट गराइन्छ । ‘भिएफएक्स महँगो पनि छ । सस्तो पनि छ’, उनले भने, ‘गाडी उडेको र बम ब्लाष्ट गरेको सिन बास्तविक रुपमा देखाउनु प-यो भने महँगा पर्छ । भिएफएक्सबाट गरियो भने सस्तैमा हुन्छ ।’ उनका अनुसार फिल्ममा आवश्यक नरहेको दृष्यलाई भिएफएक्सबाट सजिलै हटाउन सकिने उनले बताए ।
फिल्मको बजेट हेरेर बजगाइँले काम गर्ने गरेको बताउँछन् । ठूला फिल्मको काम गर्दा राम्रो कमाइ हुने गरेको उनले बताए । तर, साना बजेटका फिल्मबाट भने बेलाबेला काम गर्दै जाँदा घाटा लाग्ने गरेको उनको भनाइ छ ।
भिएफएक्सको काम गर्न टिम चाहिन्छ । बजगाइँसँगै सत्यम राना, बसन्त घर्ती मगर, मधुकर बलामीसहितका साथीहरूको भिएफएक्सको काम गर्ने टिम छ । उनीहरूको टिमले गरेको काममा खोट लगाउने ठाउँ पाइँदैन । भिएफएक्सको रेण्डरिङ मात्रै भएर पनि नहुने उनले बताए । नेपालका फिल्महरूमा उच्च क्वालिटीको फिल्म देखाउने क्षमता पनि नरहेको उनले बताए ।
बिगत ९–१० वर्षदेखि भिएफएक्सको प्रयोग फिल्ममा बढेको बजगाइँले बताए । ‘बाहुबली’ फिल्मपछि नेपालमा पनि भिएफएक्स प्रविधिबाट फिल्म बनाउने क्रम बढेको बजगाइँले बताए । सानैदेखि प्राविधिक विषयमा चासो राख्दै आएका बजगाइँले फिल्ममा अहिले आफैले हिरो हिरोइनलाई भिएफएक्समार्फत उडाउनेदेखि राम्रो र आकर्षक देखाउनेसम्मका काम गछन् । भन्छन्, ‘काम चुनौतीपूर्ण छ । राम्रो पनि छ । खुसी छु ।’
बजगाइँले ‘विराङ्गना’, ‘प्रेमलीला’, ‘छिरिङ’, ‘जय शम्भो’, ‘च्याम्पियन’, ‘भिलेन’, ‘आरोप’, ‘प्रेम दिवस’, ‘ए मेरो हजुर ३’ लगायतका फिल्ममा भिएफएक्सको काम गरिसकेका छन् ।
















प्रतिक्रिया