२० कार्तिक २०८३, शुक्रबार

जनआन्दोलनका घाइते तथा सहिद परिवार भन्छन्– राज्यले बिर्सियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ माघ । जनआन्दोलनका घाइते तथा सहिद परिवारले राज्यले आफूहरुलाई वेवास्ता गरेको गुनासो पोखेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले सहिद दिवसको अवसर पारेर आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै २०६२/०६३ को जनआन्दोलनका सहिद यमलाल लामिछानेका छोरा द्रोण प्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो पोखे ।

उनले भने, ‘राज्यले हाम्रा अभिभावको रगतलाई चिनेन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हाम्रा अभिभावले ज्यानको आहुती दिए । तर, राज्यले हामीलाई कहिल्यैपनि सम्झिएन ।’ आज सहिद दिवस देशव्यापी रुपमा मनाएपनि आफूहरुले सरकारले कुनै वास्ता नगरेको उनको गुनासो छ ।

सहिद गोविन्द शर्माकी धर्मपत्नी भगवती शर्माले आन्दोलनमा सहादत प्राप्त गर्ने र घाइते जिउँदा सहिदहरुले राज्यबाट कुनै पनि सम्मान नपाएको गुनासो पोखिन् । उनले भनिन्, ‘नेता तथा कार्यकर्ताहरुले अन्तर्राष्ट्रियस्तरको सुविधा लिने तर आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारले केही पनि पाएनन् ।’

उनले चुनावको बेला मात्रै दलका नेताहरुले सहिद परिवार र घाइतेहरुलाई सम्झिने गरेको र सत्तामा पुगेपछि चटक्कै बिर्सिने गरेको आरोप लगाइन् । उनले सहिदहरुको सम्मानको लागि पनि सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गरिन् ।

कार्यक्रममा सहिद बासुदेव घिमिरेकी धर्मपत्नी सुनिता घिमिरेले सरकारले आफूहरुको पीडा नसुनेको गुनासो पोखिन् । उनले भनिन्, ‘हामीहरुकै श्रीमानहरुको रगतका कारण आज यत्रो परिवर्तन आयो । तर, सरकारले हामीलाई कुनै वास्ता गरेको छैन ।’ सरकार आफ्नो ७ पुस्तालाई पुग्नेगरि कमाउन व्यस्त रहेको पनि उनले आरोप लगाइन् ।

सहिद चन्द्र बहादुर बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटीले मुलुकमा परिवर्तनको लागि आफ्नो श्रीमानले जीवन नै आहुति दिएको र आफ्नो सिउँदो पुछिएको सुनाउँदै राज्यले आफूहरुलाई अहिलेसम्म खासै वास्ता नगरेको गुनासो पोखिन् ।

उनले चार जना सहिदको मात्रै नभएर २०६२/०६३ को जनआन्दोलनका २१ जनै सहिदहरुलाई पनि जोडेर शालीक निर्माण गर्नुपर्नेमा जोड दिइन् । सहिद ताहिर अली अन्सारीका छोरा अस्गर अली अन्सारीले राज्यले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले सहिद परिवारलाई सरकारले बाँच्ने आधार बनाइदिनुपर्ने पनि माग गरे ।

कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका घाइते मेघराज आचार्यले आफू मृत्युले छोडेको व्यक्ति भएको सुनाउँदै नेपालीहरुले खाएको प्रत्येक गाँसमा र फेर्ने प्रत्येक श्वासमा सहिदको मूल्य रहेको बताए ।

आफू अहिलेपनि औषधी र उपचारको भरमा बाँचेको आचार्यले सुनाए । तर, राज्यले जनआन्दोलनका घाइतेहरुको उपचारमा कुनै सहयोग नगरेको पनि गुनासो पोेखे । उनले भने, ‘राज्यले हामीलाई अवहेलना गरेको छ ।’

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालमा रहेको औषधी पसललाई तिर्नुपर्ने रकम नतिरिदिँदा आफूहरुलाई औषधीको सेवा लिनपनि कठिनाई भएको उनले गुनासो पोखे ।

कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका घाइते सुनिल भट्टराईले राज्यले पछिलो समय हचुवाको भरमा सहिद घोषणा गर्दा वास्तविक सहिदहरुको अपमान भएको बताए । भट्टराईले पछिल्लो समय मुलुकमा सुशासन कायम हुन नसकेको र दण्डहीनता मौलाएको पनि आरोप लगाए ।

त्यस्तै २०६२/०६३ को जनआन्दोलनका घाइते ढाल बहादुर बस्नेतले लोकतन्त्रको लागि लड्दा आफूले अहिले अपाङ्गताको जीवनयापन गर्नुपरेको सुनाउँदै अहिलेसम्म राज्यले कुनै वास्ता नगरेको गुनासो पोखे । ह्विलचियरमा बसेर आफ्नो धारणा राखेका बस्नेतले सिंहदरबार आफूहरुको मूल्यले बनेको पनि बताए ।

२०६२/०६३ को जनआन्दोलनका घाइते युवराज कँडेलले आफूहरु जीवन मरणको दोसाँधमा रहेको बताए । तर, राज्यले आफूहरुलाई कुनै वास्ता नगरेको उनले गुनासो पोखे ।

उनले जनआन्दोलनका घाइतेहरु अब एकजुट भएर राज्यसँग आफूहरुले पाउनुपर्ने सेवा सुविधाको लागि लड्नुपर्ने धारणा राखे ।