२० कार्तिक २०८३, शुक्रबार

सभामुख महरासँग साउदी अरेवियाका राजदूतको शिष्टाचार भेट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, माघ १५ । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित साउदी अरेवियाका नवनियुक्त राजदूत मुसैद एस. अल मारवानीले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मारवानीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा सभामुख महराले नेपाल–साउदी अरेबियाको कुटनीतिक सम्बन्ध चार दशकअघिदेखि नै रहेको भन्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ रहेको बताए । साउदी अरेवियन राजदूतको रुपमा नेपाल आएका मारवानीलाई स्वागत गर्दै सभामुख महराले राजदूतको रुपमा मारवानीको कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे ।

‘नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध लामो समयदेखि रहिआएको छ’, सभामुख महराले भने, ‘दुई देशको कूटनीतिक तथा राजनीतिक सम्बन्ध अझैं प्रगाढ र बलियो बनाउन तपाईंको भूमिकाले विशेष महत्व राख्नेछ ।’

नेपालको संसदीय परम्परा, संघीय संसदको संरचना, शासन पद्धतिलगायतको जानकारी दिनुहुँदै सभामुख महराले संघीय संसदको तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताए ।

‘हामीले संघीय संसदको तर्फबाट छिट्टै नेपाल–साउदी अरेयिबा संसदीय मैत्री समूह गठन गर्दैछौं’, उनले ‘संसदीय मैत्री समूह गठनले दुई देशबीचको संसदीय अनुभव आदानप्रदानका साथै राजनीतिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने मैले विश्वास लिएको छु ।’

राजदूत मारवानीले साउदी अरेबियाको विकास निर्माणका काममा नेपाली कामदारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै खुशी व्यक्त गरे । भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहर भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिव भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।