९ कार्तिक २०८३, सोमबार

किसानले सडकमा फाले काउली, इँटाभट्टा सञ्चालकद्वारा किसानमाथि हातपात

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । पाँचखालका किसानले धुलिखेलको सडकमा लगेर आफूले उब्जाएको काउली फालेर विरोध प्रदर्शन गरेका छन् ।

इँटाभट्टाको प्रदूषणका कारण आफूहरूले उब्जनी गरेको काउली कालो भएकाले बिक्री नभएको भन्दै उनीहरूले विरोधस्वरूप सोमबार दिउँसो धुलिखेलको सडकमा फ्याँकेका हुन् ।

इँटाभट्टाको धुवाँधुलोले काउली कालो भएपछि बिक्न छाडेको उनीहरूको गुनासो छ । काउली बेच्न काठमाडौंको कालीमाटी तरकारी बजार लैजाँदा कालो भएका कारण बिक्री नभएर फिर्ता ल्याएको किसानहरूको भनाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पाँचखालमा उत्पादित तरकारीको मुख्य बजार काठमाडौं उपत्यका हो । केही समययता इँटाभट्टाकै कारण पाँचखालमा तरकारीखेती कम हुन थालेको र उत्पादित तरकारी पनि बिग्रिएपछि किसान चिन्तित हुँदै आएका थिए । लामो समयदेखि पाँचखालका किसानले इँटाभट्टा हटाउनुपर्ने भन्दै विरोध गरिरहेका थिए ।

तर, इँटाभट्टाको विरोध गरेको भन्दै केही समयअघि सुवर्णेश्वरी इँटाभट्टाका सञ्चालकले स्थानीय दुई किसानलाई कुटपिट गरेको आरोप लगाएका छन् । गाउँकै एक घरमा चौरासीमा बसिरहेको ढकनारायण पराजुली र पुरुषोत्तम पराजुलीलाई ६ जनाले कुटपिट गरेका थिए ।

सुवर्णेश्वरी इँटाभट्टाका सञ्चालकहरू रामगोपाल श्रेष्ठ, हरिकुमार श्रेष्ठ, श्रवण न्यौपाने, रूपक दनुवार, सुशील श्रेष्ठ र राजाराम श्रेष्ठले हातपात गरेको भन्दै पीडितहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन् । ‘हामी चौरासी कार्यक्रममा थियौँ, इँटाभट्टाको विरोध गरेको भन्दै हामीलाई सुवर्णेश्वरी इँटाभट्टाका सञ्चालकले हातपात गरे । गाउँका सबैले देखेका छन्,’ पीडित ढकनारायण पराजुलीले भने । आफूहरूलाई हतियार देखाई हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उनीहरूविरुद्ध किटानी जाहेरीसमेत दिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले पाँचखालका किसानले किटानी जाहेरी दिएको र छानबिन सुरु भइसकेको बताए ।