सप्तरी । नयाँ शैक्षिकसत्र सुरु भएको एक महिनाभन्दा बढी बितिसक्दा पनि कक्षा ९ र १० मा पढ्ने सप्तरीका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
पाठ्यपुस्तक समयमा पाउन नसक्दा यसपालि एसएलसी परीक्षा दिने विद्यार्थी बढी मारमा परेका छन् । कक्षा ९ र १० का पाठ्यपुस्तकका लागि जिल्लाभरिकै विद्यार्थी र शिक्षक सदरमुकामका पुस्तक पसलहरूमा लामो समयदेखि धाउन बाध्य छन् तर पाठ्यपुस्तक भने पाउन नसकेर उनीहरू निराश भएर फर्किने गरेका छन् ।
पुस्तकका लागि दैनिक २५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम धाउँदासमेत पुस्तक पाउन नसकेको गुनासो गर्दै सप्तरीको बोदे बर्साइनस्थित चन्द्रा उच्चमाविका विद्यार्थी मञ्जित यादवले भने, ‘यसपालि एसएलसी दिन्छु तर एक महिनासम्म पुस्तक नपाएपछि कसरी कोर्स तयारी गर्नु ?’
मानराजास्थित महेन्द्र चुनी माविका प्रधानाध्यापक रामाकान्त यादवले भने, ‘कसरी पठनपाठन सञ्चालन गर्ने, पाठ्यपुस्तक नहँदा विद्यार्थी खाली झोला र कलम लिएर विद्यालय जान बाध्य छन् ।’ किताब नहुँदा विद्यार्थीलाई पढाउन समस्या हुँदै आएको उनको भनाइ छ ।
पाठ्यपुस्तकका लागि दिनहँ सदरमुकाम जाँदाआउँदा समय र पैसा दुवै खर्च भए पनि पाठ्यपुस्तक भने नपाएपछि रित्तै हात फर्किन बाध्य रहेको सप्तरीको बोदे बर्साइनस्थित मनोज पुस्तक पसलका सञ्चालक मनोजकुमार यादवले बताए ।
सप्तरी जिल्लामा कक्षा ९ र १० को करिब नौ/नौ हजार सेटमा पुस्तक आवश्यक पर्ने जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । तर पुस्तक व्यवसायीहरू हालसम्म जिल्लामा दुई हजार सेटसम्म मात्र पाठ्यपुस्तक भित्रिएकाले समस्या भएको बताउँछन् ।
सरकारले यसपालि सप्तरीका लागि जनकपुरस्थित जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्री–वितरणको व्यवस्था मिलाएको छ । तर थोरै कमिसन (नौ प्रतिशत) भएकाले पुस्तक व्यवसायीहरू जनकपुरसम्म गई पाठ्यपुस्तक ल्याउन तयार नभएकाले समस्या देखिएको पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ सप्तरीका अध्यक्ष भोला चौधरी बताउँछन् ।
सरकारले अर्काे व्यवस्था गर्न नसके यस वर्ष कक्षा ९ र १० मा पढने सप्तरीका झन्डै १८ हजार विद्यार्थीको पठनपाठन प्रभावित हुने भएको उल्लेख गर्दै यसतर्फ सरकारको अविलम्ब ध्यान पुग्नुपर्ने शिक्षकहरू बताउँछन् ।













प्रतिक्रिया