काठमाडौं, २३ पुस । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदै छ ।
आयोजनाको मुख्य ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सीएमसी दि रेभेन्ना)को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको समाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
आयोजनाका उच्च अधिकारीका अनुसार आज सोमबार फर्किने र वार्ता गरेर बाँकी रहेको मेलम्चीको काम सम्पन्न गर्ने भन्दै ती कम्पनीका कर्मचारीहरु स्वदेश फर्केका हुन् ।
‘ठेकेदार कम्पनीका कर्मचारीहरु चाड मनाउन भन्दै पुस २३ मा फर्कने सर्तमा नेपाल छोडेका थिए । आएपछि निर्णायक वार्ता बसेर समाधान निकालिने भनेको छ’, आयोजना स्रोतले भन्यो ।
अब आयोजनाको काम सम्पन्न गर्न कसरी जाने, के गर्ने भन्ने विषय उक्त वार्ता नै निर्णायक हुने उनको भनाइ छ । खानेपानी मन्त्रालयका सहसचिव शंकर सुवेदीले सोमबारदेखि इटालिएन टोली नेपाल फर्कने कुरा भएको बताए ।
‘प्रमुख नै आउने हो कि प्रतिनिधि मात्रै आउने हो त्यो चाहिँ खुलेको छैन’, उनले भने, ‘आउने भनेको छ । आएपछि काम थप अगाडि बढ्न वार्तालाई माध्यम बनाइनेछ ।’















प्रतिक्रिया