काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी ओलीले कर्मचारी समायोजनसम्बन्धी अध्यादेशप्रति विरोध जनाएर धमिलो पानीमा माछा मार्ने रहर नगर्न सुझाए। सरकार र कर्मचारीहरूको आधिकारिक युनियनबीचको सहमततिमै कर्मचारी समायोजन प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले भने, ‘यस प्रसंगमा ‘पानीलाई धमिलो पार्ने र धमिलोमा माछा मार्ने’ रहर नगर्नु नै उपयुक्त हुने म ठान्छु।’
टीकापुरका घटनाका मुख्य अभियुक्तका रूपमा प्रहरी हिरासतमा रहेका रेशम चौधरीको शपथ र वाइडबडी विमान अनियमिताबारे भने प्रधानमन्त्री बोल्न चाहेनन्। उनले भने, ‘कुन विषयमा कस्ता न्यायिक समिति बनाउने हो, सरकार तयार छ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
सार्वजनिक रूपमा उठेका विषय र सांसदले सोधेका प्रश्नभन्दा चालु वर्षको नीतिरकार्यक्रम तथा बजेट कार्यान्वयनको स्थितिबारे सदनलाई जानकारी दिएका थिए। सरकारले यसवर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन वर्षको रूपमा उल्लेख गरेको उनले बताए। संरचनागत व्यवस्थापन गर्न कानुन, संगठन, जनशक्ति, बजेट र लेखाप्रणाली गरी कम्तीमा पनि पाँच पक्षमा पुनर्संरचनाको खाँचो औंल्याए।
संविधान कार्यान्वयनका लागि कानुन निर्माणमा सरकार सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रदेश र स्थानीय तहमा उपर्युक्त संगठन र दरबन्दी एकिन गरी ती तहमा आवश्यक जनशक्तिको आपूर्ति व्यवस्था मिलाउन कर्मचारी समायोजन अध्यादेश कार्यान्वयनमा ल्याइएको स्पष्ट पारे। पहिलोचोटि वित्तीय संघीयता कार्यान्वयनमा आएकोले बजेट र लेखा प्रणाली बुझ्न र बुझाउन केही अलमलजस्तो देखिए पनि यसले आफ्नो मार्ग पहिल्याएको बताए।
प्रधानमन्त्री ओलीले यस वर्षको पहिलो ५ महिनाको तुलनामा राजस्व संकलनमा ३२ प्रतिशत बढेको उल्लेख गरे। यस्तै आर्थिक वृद्धिदर ८ प्रतिशत हाराहारीमा हुने अनुमान गरिएको बताए। राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको भन्दै उनले समस्या देखिएका केही परियोजनामा सरकारले विशेष अनुगमनको व्यवस्था गरिरहको जनाए। ‘मेलम्ची खानेपानी परियोजनाको निर्माण रफ्तारमा बढेको समयमा केही समस्या आएको छ, हल गर्ने प्रयास जारी छ’, उनले सदनलाई जानकारी दिए।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रमले समाजवादउन्मुख राज्यको गन्तव्य र लोक कल्याणकारी राज्यको चरित्र निश्चित गरेको प्रधानमन्त्रीले दाबी गरे। कार्यक्रमलाई लिएर प्रतिपक्षी दलले विरोध जनाएको प्रति भने उनले कटाक्ष गरे। ‘मेरा मित्र पूर्वप्रधानमन्त्रीले त यसै सदनमा प्रश्न गर्नुभयो, ‘सामाजिक सुरक्षा हामीले हाम्रो पालामा ल्याएको हो, अहिले प्रधानमन्त्रीले आफूले ल्याएको भन्ने रु ’ उनले भने, ‘यसमा अप्ठ्यारो मान्नुपर्ने, मुखै लुकाउनुपर्ने कुरा कहाँबाट आयो रु जो कोहीले जस लिनुस्। हामी प्याटेन्ट राइट वा कपी राइटमा बहस गरका छैनौं।’
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षालगायत विषयमा उल्लेखनीय काम भइरहेको जनाए। ‘सडकमा पोखिने अमर्यादित एवं अराजक भीडले निर्मलालाई न्याय दिने हैन, सरकारले दिन्छ। त्यसको नेतृत्व मैले गरिरहेको छु, ढुक्क रहे हुन्छ’, प्रधानमन्त्रीले भने।















प्रतिक्रिया