९ कार्तिक २०८३, सोमबार

जाडोमा जल्छन् महिला

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २२ पुस । जाडोले बढी पिरोल्ने ठाउँ हो-तराई। यहीँ चल्छ शीतलहर पनि। यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर (आगो) ताप्छन्। प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ। तर महिलाका लागि कहिलेकाहीँ यही आगो काल बनिदिन्छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

जनकपुर अञ्चल अस्पतालको इमर्जेन्सी वार्डबाट शुक्रबार मात्रै बर्न वार्डमा सारिएकी धनुषाको बैरिया निवासी आठमहिने गर्भवती अनितादेवी यादवका लागि जाडोको घुर काल बन्यो। मंगलबार दिउँसो दाउराको चुलोमा आगो ताप्दै खाना पकाइराखेकी थिइन् उनी। चुलोतर्फ फर्किएर ३० वर्षीया अनिता चिसोले दुखेको कम्मर सेकिरहेकी थिइन्। उनले केही बेर आगो तापिन्। दुखाइ कम पनि भयो। तर छिनमै आगोले उनको साडी समात्यो। र शरीरभरि फैलियो। हेर्दाहेर्दै कपडा मात्र होइन, शरीर पनि आगोले जलायो। देखेर घरपरिवारले हारगुहार त गरे। उद्धार गरिनसक्दै अनिताको शरीरका आधा भाग आगोले भेटिसकेको थियो।

तत्कालै अनितालाई उपचारका लागि अञ्चल अस्पताल भर्ना गरियो। अहिले उनको ज्यान जोगिएको छ। गर्भको बच्चा पनि सुरक्षित छ। तर घाउले गर्भावस्थाको पीडा अझ बल्झाइदिएको छ।

जनकपुरधाम उपमहानगरपालिका पुलचोककी मंगलीदेवी दासलाई पनि आइतबार आगोले भेट्यो। ६ महिनाकी गर्भवती दास चिसोबाट बच्न आगो ताप्दै थिइन्। साडीलाई एक्कासि आगोको झिल्कोले भेटेपछि छिनमै शरीरभरि फैलियो। घरपरिवारले जेनतेन उनलाई बचाएर अस्पताल भर्ना गरायो। उनी पनि अहिले खतरामुक्त छिन्। पोलाइको पीडा र त्यसमाथि गर्भमा भएको बच्चाको चिन्ताले दासलाई झन् पीडित बनाएको छ।

६० वर्षीया दुखनी देवी सदा बिहीबार घरअघि पराल र दाउरा जोडेर घुर ताप्दै थिइन्। मुसहर समुदायकी सदालाई चिसोबाट जोगिन न्याना लुगा नहुँदा आगोकै सहारा थियो। आगो तापिरहेकी उनी त्यहीँ निदाइन्। साडीको फेरो घुरमा पर्‍यो। शरीरभरि आगो फैलियो। दुखनी चिच्याउन पनि सकिनन्। उनको पूरै शरीर जल्यो। छिमेकीले जल्दै गरेकी दुखनीलाई देखे। उनीहरूले घटनाबारे रघुनाथपुर बस्ने छोरी देवकुमारी सदालाई फोन गरेर जानकारी गराए।