कावासोती, १३ पुस । गण्डकी प्रदेशकै सबैभन्दा बढी सवारी दुर्घटना हुने जिल्लाका रुपमा परिचित नवलपुरमा पछिल्लो समय लागूऔषध कारोबारमा संलग्नहरू दैनिक जसो पक्राउ पर्न थालेका छन् ।
पुस ९ गते मात्रै ४८ जना लागुऔषध कारोवारमा संलग्नलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरले फेरि बिहीबार साँझ पनि ठूलो परिमाणको लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत जिल्लाको विनयी त्रिवेणी गाँउपालिका १ बेसक्याम्प नजिकै मोटरसाईकलमा पूर्वतर्फ आउदै गरेका गैंडाकोट नगरपालिका २ का २० वर्षीय मञ्जित क्षेत्री र पश्चिम नवलपरासी सरावल गाउँपालिका ७ का २१ वर्षीय ईमामुद्विन अलिलाई शंका लागि चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनीहरूको साथबाट शरीरका विभिन्न भाग र झोलामा लुकाइछिपाई ल्याउँदै गरेको नाईट्रोभेट २ सय ७ ट्याब्लेट, फेनारगन ६ एम्पुल, डाईजोपाम ६८ एम्पुल, ग्लेनकफ सय एमएलको दुई वटा बोतल, स्प्यारिड २ सय ५२ टुयाब्लेट र ईप्पल ६८ एम्पुल बरामद गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले भारतीय नम्बर प्लेटको यु पि ५६ क्यू ६२६८ नम्बरको मोटरसाईकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले भारतसँग सिमाना जोडिएका खुला नाकाबाट लागूऔषध ओसार पसार भएको बताउनुभयो ।
प्रहरी प्रमुख थापाका अनुसार भैरहवा, महेशपुरको ठुटीवारी र त्रिबेणीको भैसालोटन लगायतका स्थानीय खुल्ला सिमानाकाबाट लागुऔषध भित्रिने गरेको छ ।













प्रतिक्रिया