मनाङ, १९ मंसिर । मंसिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् ।
प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मंसिर, पुस र माघमा बढी जाडो हुने हुँदा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन ।
जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन् । मंसिर, पुस र माघमा जाडो छल्न स्थानीयवासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् ।
स्थानीयवासी विनोद गुरुङका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यावसायी जाडो छल्न जिल्ला बाहिर जाने गर्छन् । ‘जाडो छल्न काठमाडौं, पोखरालगायतका शहरमा जानेको सङ्ख्या बढी छ’,” गुरुङले भने ।
माथिल्लो भेगमा हिउँ पर्न शुरु भइसकेको छ । अब विस्तारै तल्लो भेगमा हिउँ पर्न थाल्छ । चिसो बढेसँगै गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ ।
विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन अन्यत्र लाग्छन् । हिमाली भेगबाट भेडाबाख्रा र चौँरी बेँसी सार्ने तथा चिसो कम हुने ठाउँमा राख्ने चलन छ ।
चौँरीगोठ मनाङको नासो गाउँपालिकाका लेकमा राखिने तथा भेडा च्याङ्ग्रा लमजुङको बाहुनडाँडा र घनपोखरा पु¥याउने थकाली बताउनुहुन्छ । माथिल्ला भेगमा रहेका खर्कबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगमा सार्ने तयारीमा किसान जुटेका छन् ।
अबको तीन महीना माथिल्लो भेगमा हिउँ पर्छ । अति जाडो हुन्छ । घाँस पुरै हिउँले ढाकिन्छ । त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन् ।
यस क्षेत्रका किसानको माथिल्लो भेग र तल्लो भेगमा गरी दुई गोठ हुन्छन् । चिसो बढेसँगै माथिल्लो भेगबाट किसानले याक, चौँरी, च्याङ्ग्रा र भेडाबाख्रा तल्लो भेगका तालगाउँ, धारापानी, दानाक्यूलगायत ठाउँमा सार्ने गर्दछन् ।












प्रतिक्रिया