२० कार्तिक २०८३, शुक्रबार

उपराष्ट्रपति पुन र फिलिपिन्सका उपराष्ट्रपति रोब्रेडोबीच भेटवार्ता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र फिलिपिन्सबीच सांस्कृतिक लगायतका धेरै समानताहरु रहेको बताउनुभएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर जेरोना रोब्रेडोले आज उपराष्ट्रपतिको कार्यालय बहादुरभवन पुगेर भेट गर्नुभएको हो । समकक्षीसँगको भेटमा दुई देशको सम्बन्ध र सहकार्य लगायतका बारेमा छलफल भएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

उपराष्ट्रपति पुनले फिलिपिन्स नेपालको घनिष्ठ मित्रराष्ट्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र फिलिपिन्सबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको साठी वर्ष पुग्दैछ । पूर्वी दर्शनको मान्यताअनुसार साठी वर्ष अत्यन्त शुभ वर्ष हो”, उपराष्ट्रपति पुनले भन्नुभयो, “कूटनीतिक सम्बन्धको साठी वर्षले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।”

उपराष्ट्रपतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको आर्थिक समृद्धिका लागि फिलिपिन्ससँग सहकार्य गर्न चाहेको बताउनुभयो । “हामी आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण अभियानमा छौँ । नेपालको विकास र समृद्धिका लागि हामी सबै मित्रराष्ट्रसँग सहकार्य गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “नेपाल र फिलिपिन्स दुवै प्राकृतिक रुपमा सुन्दर मुलुक हुन्, दुई देशबीचको सहयोग र सहकार्य अझै फराकिलो बनाउनुपर्दछ ।”

भेटमा उपराष्ट्रपति पुनले नेपालले कृषिको आधुनिकीकरण, पर्यटनको विकास, जलविद्युत् उत्पादन तथा बिक्री, जडीबुटीको प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणको माध्यमबाट समृद्धि हासिल गर्न खाजेको बताउनुभयो ।

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको जानकारी गराउँदै त्यस अवसरमा नेपालको भ्रमणका लागि फिलिपिन्सका नागरिकलाई आग्रहसमेत गर्नुभयो ।

फिलिपिन्सका उपराष्ट्रपति रोब्रेडोले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको भ्रमण गर्न पाउँदा आफूले गौरव महसुश गरेको बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनुहुँदै आउँदा दिनमा थप सुदृढ हुने बताउनुभयो । नेपाल र फिलिपिन्सबीच धेरै समानता रहेको चर्चा गर्नुहुँदै उहाँले विकास र समृद्धिका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो । “फिलिपिन्स र नेपालको धेरै समानता छन् । हाम्रो संस्कृतिमा समानता छ । हामी दुवै देशले विकासको प्रयास गरिरहेका छौँ । व्यापार घाटाजस्ता समानता पनि दुवै देशको छ,” उहाँले भन्नुभयो ।

फिलिपिन्सका उपराष्ट्रपतिले राजनीतिक स्थायित्व र संविधान निर्माणका लागि नेपाललाई बधाई दिनुभयो । “यहाँहरुले नयाँ संविधान बनाउनुभयो । राजनीतिक स्थायित्व हासिल गर्नुभयो । बधाई छ”, उहाँले भन्नुभयो, “नेपालको संविधानले महिला अधिकारसम्बन्धी गरेको व्यवस्था अत्यन्त प्रशंसनीय छ ।” उहाँले उपराष्ट्रपति पुनलाई फिलिपिन्स भ्रमणको आमन्त्रणसमेत गर्नुभयो । भेटमा उपराष्ट्रपति पुनले उपयुक्त समयमा फिलिपिन्स भ्रमण गर्ने बताउनुभयो । –रासस