
काठमाडौँ, ९ मंसिर । बलात्कारपछि हत्या गरिएकी छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना बसेका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याइदैछ । उनको मानसिक अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । आइतबार दिउँसो उनीहरु काठमाडौँ पुग्दैछन् ।
यज्ञराजले होस गुमाएर धेरै बोल्ने÷हिँड्ने गर्न थालेपछि शनिबार दिउँसो सेती अञ्चल अस्पताल लगेर बेहोस बनाउने इन्जेक्सन दिइएको थियो । उनलाई शनिबार जहाजबाट काठमाडौँ ल्याउने भनिएपनि सुरक्षाको कारण देखाउँदै विमानस्थल कार्यालयले जहाजमा लिन नसकिने बताएपछि एम्बुलेन्समा ल्याउन लागिएको हो ।
सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि यज्ञराजलाई काठमाडौं ल्याउन लागिएको पारिवारिक स्रोतले जनाएको छ यज्ञराजको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै स्वास्थ्यकर्मी सुनिल विकलाई पनि साथमै पठाइएको छ । यज्ञराजलाई त्रिवि शिक्षण अस्पताल पुर्याइनेछ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको समवन्यमा प्रहरी सहायक निरीक्षक दिपक धामीको नेतृत्वमा ३ जनाको प्रहरी टोली पनि यज्ञराजसँगै छन् ।
छोरीका हत्यारा पत्ता लगाउन र आफूहरूलाई न्याय दिन माग गर्दै कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयअघि निर्मलाका परिवारै धर्नामा बसेका छन् । हप्ता दिनअघिबाट निर्मलाका बुवा अस्वभाविक रूपमा बढी बोल्ने बरबराउने गर्न थालेका थिए ।
निर्मला गत साउन १० गते साथीको घरमा होमवर्क गर्न भन्दै गएकी थिइन् । त्यसको भोलीपल्ट उनको शव उखुबारीमा बलात्कार गरि हत्या गरिएको अवस्थामा भेटिएको थियो । उनलाई बलात्कार गरी मारिएको पोष्टमार्टम रिपोर्ट आएको थियो ।
उनको हत्या अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्ली विष्टलगायतलाई बर्खास्त गरिएको छ । घटना भएको ४ महिना पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।












प्रतिक्रिया