
सल्यान, ४ मंसिर । सल्यानमा पछिल्लो समय परिवारका सदस्यहरुबाट नै चेलिबेटीहरु असुरक्षित हुने गरेको पाईएको छ । ईन्सेक सल्यानले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा बलात्कार, बलात्कारको प्रयास र यौन दुर्घटनाहरुमा उल्लेख्य मात्रामा बृद्धि भएको छ । ती घटनाहरु परिवारका सदस्यहरुबाट नै हुने गरेको पाईएको हो ।
मानवअधिकार वर्ष पुस्तक सन् २०१९ का लागि संकलन गरिएका घटनाहरुको वार्षिक पूर्व समिक्षा कार्यक्रममा अनौपचारिक शिक्षा सेवा केन्द्र (ईन्सेक) सल्यान प्रतिनिधि मिना बुढाथोकीले जिल्लामा यस बर्ष गत बर्षको तुलनामा बलात्कार र बलात्कार प्रयासका घटना धेरै रहेको बताईन । उनले जिल्लामा एक वर्षमा घटेका घटनाहरुलाई केलाउदा घरपरिवार, आफन्तबान नै चेलिबेटीहरु असुरक्षित हुने गरेको पाईएको बताईन् ।
यस वर्ष जिल्लामा बलात्कार र बलात्कार प्रयासका १२ वटा घटना घटेका छन् । ‘गत बर्ष १५ वटा घटना घटेका थिए, तर बिगत १० महिनाको अवधिलाई हेर्ने हो भने परिवार कै सदस्य, बुवाबाट छोरी, दाईबाट बहिनी, ससुराबाट बुहारी, काकाबाट भतिजीलाई बलात्कार तथा बलात्कारको प्रयास गरेका घटनाहरु गत बर्षको तुलनामा धेरै भएको पाईएको छ उनले भनिन् । ईन्सेकले सार्बजनिक गरेको तथ्यांक अनुसार ७ जना बालिका बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारबाट पीडित भएका छन् ।’
यस अवधिमा ५ जना महिलामाथिसमेत बलात्कार, बलात्कार प्रयास भएको पाईएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै नागरिक तथा राजनीतिक अधिकार, सम्मानित रुपले बाँच्न पाउने अधिकार अन्तरगत कैदीबन्दीले समस्या भोग्नु परेको घटना एक, महिलाविरुद्ध भेदभाव, दुव्र्यवहार अन्तरगत हत्याका घटना दुई वटा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस अवधिमा परिवार तथा आफ्नै परिवारजनबाट ३ जनाले ज्यान गुमाएका छन् । यस्तै बहुविवाहका ७ वटा, घरेलु हिंसाका ३ वटा, घर निकालाको एक वटा घटना रहेको ईन्सेकले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यस्तै महिला बेचविखनका दुई, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार अन्तरगत स्वास्थ्य सेवाबाट बन्चित एक, धम्की/कुटपिट, गैर राज्यपक्षबाट एक, गैरकानुनी गिरफ्तारी/गिरफ्तार एक, र सुगम तथा निष्पक्ष न्यायिक अधिकार अन्तरगत बालअधिकार/शिक्षाको अधिकारबाट बन्चित भएको एक वटा घटना यस अबधिमा घटेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया