११ कार्तिक २०८३, बुधबार

चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव सुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर, ३० कार्तिक । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारबाट पूर्वी क्षेत्र महोत्सव शुरु भएको छ । रत्ननगर–४ शान्तिचोकको खुल्ला चौरमा सुरु भएको महोत्सव आगामी मंसिर ११ गते सम्म चल्नेछ ।

एन.एस.क्रियशन एण्ड इभेन्टस् प्रा.लि.र लायन्स क्लव अफ चितवन राइनो सिटीको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको अवसरमा चितवनको रत्ननगर वजार सिंगारिएको छ । महोत्सव सुरु हुनु पूर्व रत्ननगर नगरपालिका परिसरबाट शोभा यात्रा निकालिएको थियो । शोभा यात्राले रत्ननगर बजार परिक्रमा गरी महोत्सव स्थलमा पुगेर औपचारिक कार्यक्रम सुरु भएको हो ।

महोत्सवमा व्यावसायिक प्रवद्र्धनका अतिरिक्त महोत्सवबाट भएको आम्दानीले क्लबले शव बहान खरीद गरी सञ्चालन गर्ने, पूर्वी क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुका लागि पत्रकार संरक्षण कोष, लायन्स असहाय बाल कोष स्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मुल समारोह समितिका संयोजक निरज श्रेष्ठले बताए ।

चितवनको कृषि र पर्यटनसंगै सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । महोत्सवमा ३०० वटा स्टल रहेको छ । स्थानीय व्यापार, उद्योग, कृषि, पर्यटन, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सव अवलोकन गर्नेहरुले रत्ननगर ११ जिरौना स्थित धर्मधाम घुम्न चाहेमा सो को समेत व्यवस्था मिलाइएको छ । महोत्सवको अवसरमा विभिन्न सामाजिक अभियान सञ्चालन गरी सामाजिक कार्यमा योगदान गरेका अभियन्ताहरुलाई सम्मान समेत गरिने लायन्स क्लब अफ राइनो सिटीका अध्यक्ष ओमलाल सापकोटाले जानकारी दिए ।

महोत्सवमा कलाकारहरु शिव परियार, मेलिना राई, बद्रि पंगेनी, राजनराज सिवाकोटी, प्रिती आले मगर, बविता जेरी, बलराम सरकारको जादुलगायतको प्रस्तुती रहने छन् । सो अवसरमा लायन्स क्लवहरुको तर्फबाट निःशुल्क स्वास्थ्य शिविर, लायन्स क्लवहरु बीच डोरी तान्ने प्रतियोगिता लगायतका विभिन्न खेलकुदहरु समेत आयोजना गरिने क्लवका अध्यक्ष सापकोटाले जानकारी दिए ।

महोत्सव पूर्वआयोजित शोभा यात्रामा प्रथम भएको इन्दे्रणी क्लव नरकटियाले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो । त्यस्तै गरी उत्कृष्ट संस्थाहरु लायन्स क्लव अफ रत्ननगर समृद्धि, ठेकरा स्ट्रीक डान्स, स्ट्रीक डान्स मैनाहा, शक्तिशाली आमा समुहले पनि ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।