५ कार्तिक २०८३, बिहिबार

पिरतीमा विछोड भएको जोडीलाई सम्झिए टीका र शरणले (भिडियो)

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘सपनीमा, साथमा सानु, विपनीमा कहाँ छौँ, के जानु !
तिमी मेरी, मायालु हुने, छौँ एकदिन त !
छिटै भेट्न आउँदै छु, चोखा माया ल्याउँदै छु !
सानु नलिनु है चिन्ता, सानु नलिनु है चिन्ता !
तिमी मेरो मायालु हुने छौँ एक दिन त !

यी हरफ गायक शरणकुमार माझीको स्वरमा लयबद्ध भएका शब्द हुन् । माझीले भरखरै गीत रिलिज गरेका छन् । गाउँको साधारण युवा र युवतीको मायापिरितलाई कथावस्तु बनाएर गायक माझीले गीत बनाएका छन् । मर्मस्पर्सी लय र शब्द रहेको माझीको यो गीतले गाउँको झल्को दिएको छ ।

गाउँको गरिव परिवारको टिनेजर जोडीको मायापिरतीलाई गायक माझीले गीतमा जीवन दिएका छन् । भन्छन्, ‘म गाउँको परिवेशबाट आएको व्यक्ति हुँ । गाउँमा के कस्तो हुन्छ सबै थाहा छ ।’ उनले गरिव हुनुको पीडालाई प्रेमीले प्रेमिकालाई भनेको कुरा गीतमा उल्लेख गरिएको बताए ।

लोक लयमा आधारित माझीको गीतमा सुगम संगीतको झल्को पनि सुन्न पाइन्छ । उनले गीतमा प्रयोग गरेको ‘सानु’ शब्दले गीतलाई उचाइँमा पुर्‍याइदिएको छ । गीतमा गाह्रो शब्दहरू छैनन् । सबै शब्दहरू पानी बगे जस्तै सलल बगेको गायक माझीको बुझाइ छ । भन्छन्, ‘मायालु, पिरती, सानु, विपनिमा, चोखा, चिन्ता जस्ता शब्दले गीतलाई कर्णप्रिय बनाइदिएको छ ।’

गायक माझीलाई गीतमा चर्चित गायिका टीका पुनले साथ दिएकी छिन् । गायिका पुनको स्वर आफैमा उत्कष्ट छ । टीका र माझीको स्वर गीतमा मज्जाले जमेको छ । गायिका पुनले पनि माझीको स्वरको प्रशंसा गरेकी छिन् । भन्छिन्, ‘शरण भाईको स्वर गज्जवको रहेछ । गीतमा मसँग म्याच गरेको छ । उहाँले धेरै राम्रो प्रगति गर्नु हुन्छ । शुभकामना छ ।’

गीतसंगीतकै लागि राजधानीमा विगत दश वर्षदेखि संघर्षरत गायक माझीले तिहार आउँदै गरेका बेला गीत रिलिज गरेका हुन् । दाङका स्थायी बासिन्दा गायका माझी साधारण परिवारका व्यक्ति हुन् । सरल स्वभावका गायक माझीले गीतसंगीतकै लागि भनेर राजधानीमा कठिन संघर्ष गरिसकेका छन् । ‘अझै कति संघर्ष गर्नुपर्ने हो थाहा छैन’, उनी भन्छन् ।

चाढपर्वका बेला माया पिरतीमा परेकाहरूको पीडा कस्तो हुन्छ त्यसलाई सम्झिएर गीत बनाएको उनको भनाइ छ । ‘गीतको लय पहिला नै बनाएको थिएँ । समय पाएको थिएन । यस पटक गीत रेकर्ड गराएर रिलिज गरेको छु’, गायक माझीले भने, ‘गाउँको मायापिरतीलाई गीतमा समेट्ने प्रयास गरेको छु ।’

म्युजिक भिडियोमा पनि गायक माझीले धेरै तडक भडक राखेका छैनन् । गाउँमा हुने साधारण विषयलाई नै भिडियोमा देखाएका छन् । उनको म्युजिक भिडियोमा चलेका कलाकार छैनन् ।

गीतका शब्द राजीव तामाङले लेखेका हुन् । तामाङका शब्दहरू गहकिला छन् । गीतमा संगीत माझी आफैले दिएका छन् । म्युजिक भिडियोको निर्देशन विशाल बैरागीले गरेका छन् । वीरेन्द्र परियार र संगीता क्षत्रीले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।