काठमाडौं, १६ कात्तिक । प्रदेश ३ का मन्त्री केशव स्थापितले बैठकमा मुख्यमन्त्री र आफूबीच चर्काचर्की भएपछि ठूलो स्वर गरेको बताए पनि अपशब्द नबोलेको दाबी गरेका छन् ।
उनले आफ्नो स्वर नै प्राकृतिक रुपमा ठूलो भएको बताउँदै अहिलेसम्म अपशब्द प्रयोग नगरेको प्रतिक्रिया दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रदेशलार्इ विकास गर्ने सवालमा मुख्यमन्त्रीले मन्त्रालयको गति सुस्त भएको आरोप लगाएपछि सबै काम प्रक्रिया पूरा गरेपछि मात्रै हुने जवाफ दिएको बताए ।
‘मुख्यमन्त्रीले गति सुस्त भएको भनेपछि मैले विकासको काम अघि बढाउन बजेट निर्माणदेखि टेण्डरसम्मका प्रक्रिया हुने भएकाले बच्चाले भाँडाकुटी खेले जस्तो नहुने भनेको हुँ,’ उनले भने, ‘मैले ठुलो स्वरमा बोलेको मात्रै हो, यसलाई पारिवारिक झगडामा बुझ्दा हुन्छ ।’
मुख्यमन्त्रीले आफूलाई पदबाट हटाउने हल्ला मात्रै भएको स्थापिले दाबी गरे । ‘उहाँले मलाई हटाउने भनेको होइन्, बुधबारको मन्त्रिपरिषद बैठकमा केही चर्काचर्की भएको मात्र हो ।’
उनले आफ्नो मन्त्रालयको कुनै काम टेण्डरबिना गर्नै नसकिने भएकाले प्रक्रिया पूरा नगरी अघि बढ्न नमिल्ने अवगत गराएको दाबी गरे ।















प्रतिक्रिया