
काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका ओलीले आज बिहान पनि चिया खाजा खाएका छन् । उनी लगभग ठिक भइसकेको ओलीको सचिवालयले जनाएको छ ।
‘प्रधानमन्त्री ज्यूले नियमित डाइट लिन थालिसक्नुभयो, अब स्वास्थ्यमा धेरै समस्या छैन,’ ओलीका प्रेस संयोजक डा. कुन्दन अर्यालले भने, ‘आज अथवा भोलीसम्ममा उहाँ अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ ।’
निवासमा जाँदा नेता, कार्यकर्ता र शुभेच्छुकको भिडभाड वढी हुने भएकाले मात्र ओलीलाई अहिले अस्पतालमा राखिएको अर्यालले बताए ।
शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सिसियुमा राखेर प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकहरुले पनि ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक रहेको उबताएका छन् । बुधबार बिहान गरिएका परीक्षणहरुमा रिपोर्ट सन्तोषजनक रहेको र स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाती रोग विशेषज्ञ सन्त कुमार दासलगायतको टोली खटिएको छ ।
ज्वरो तथा खोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनी शुक्रबारदेखि बिरामी परेका थिए ।
















प्रतिक्रिया