२८ आश्विन २०८३, बुधबार

छोरा छोरीमा भेदभाव अझै ! छोरा निजी स्कुलमा, छोरीलार्इ सरकारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-jandai-chora-chori

म्याग्दी । म्याग्दीका निजी विद्यालयमा छात्र र सामुदायिक विद्यालयमा छात्रा विद्यार्थीको भर्ना दर बढी रहेको पाइएको छ ।

सामाजिक लैङ्गिक विभेदका कारण छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने गरेको पाइएको हो । म्याग्दीका विद्यालय भर्नादरको लैङ्गिक विवरणअनुसार सामुदायिक विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्र विद्यार्थीको सङ्ख्या बढी भएको पाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

गत शैक्षिकसत्र २०७० मा सामुदायिक विद्यालयमा २७ हजार ९३७ जना भर्ना भएकामा छात्राको सङ्ख्या १४ हजार ८५८ अथवा कुल विद्यार्थी सङ्ख्याको ५३.२ प्रतिशत रहेको थियो । यसैगरी निजी विद्यालयमा कुल पाँच हजार ५३२ जना भर्ना भएकामा छात्राको सङ्ख्या ४२.५ प्रतिशत अथवा दुई हजार ३४९ रहेको कार्यालयले जनाएको छ । छोरा र छोरीमा गरिने विभेदका कारण निजी विद्यालयमा छात्राको पहुँच कम देखिएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार निजी विद्यालयको ग्रामीण क्षेत्रमा पहुँच नपुग्नुको कारणले पनि सामुदायिक विद्यालयमा छात्रको भर्ना अनुपात छात्राको भन्दा बढी भएको हो । यसैगरी उच्च मावि तहमा छात्रा विद्यार्थीको पहुँच बढ्दै गएको देखिएको छ । गत शैक्षिकसत्र २०७० मा कक्षा ११ र १२ मा दुई हजार २८२ जना भर्ना भएकामा छात्रको अनुपातमा छात्राको सङ्ख्या बढी रहेको थियो ।

सामुदायिक उच्च माविमा कुल विद्यार्थी सङ्ख्याको ५९.४ र निजी उच्च माविमा अध्ययन गर्ने छात्राको सङ्ख्या कुल विद्यार्थीमध्ये ५६.५ प्रतिशत रहेको छ । मावि तहको शिक्षा हासिल गरेपछि छात्रहरुमा वैदेशिक रोजगारीको प्रभावका कारण शिक्षालाई निरन्तरता नदिने गरेकाले उच्च माविमा छात्राको सङ्ख्या बढ्दै गएको म्याग्दी बहुमुखी क्याम्पसकी प्रध्यापक रेखाकौशल रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार गाउँगाउँमा उच्च मावि खुल्ने क्रमसँगै छोरीबुहारीलाई उच्च शिक्षा हासिल गर्ने अवसरसमेत सिर्जना भएको छ । मावि तहसम्म अभिभावकमा चेतना कमीका कारण विभेद देखिए पनि उच्च मावि अध्ययन गर्ने छात्रछात्राका अभिभावक तुलनात्मक रुपमा शिक्षित भएकाले पनि छात्राहरुको सङ्ख्या बढेको रेग्मीले बताउनुभयो ।

रासस