जनकपुरधाम, २४ असोज । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान दिएका थिए ।
त्यसैगरी, जानमुन सिंहले धनुषाको दुरबकोट हथलेटवामा चार बिघा १३ कट्ठा, रामचन्द्र साहले जनकपुरमा सात कठ्ठा १६ धुर, तुलसी गिरीले सात कठ्ठा १६ धुर र गुठी संस्थानले पाँच बिघा जग्गा क्याम्पसलाई दान दिएका थिए । तर, जग्गाको आम्दानी क्याम्पसमा दाखिला नभएको वर्षौँ भइसकेको छ ।
जग्गाको रेखदेखको जिम्मा क्याम्पसको सामान्य प्रशासन शाखालाई दिइएको छ । सो शाखाले नै भाडामा दिइएको जग्गाको अनुगमन गर्ने र आम्दानी लिने जिम्मेवारी पाएको छ । तर, शाखा इन्चार्ज विजयकुमार सिंहले जग्गाबाट बर्सेनि कति आम्दानी हुन्छ भन्ने आफूलाई समेत थाहा नभएको बताए ।
तर, क्याम्पस प्रमुख विजयकुमार लाभले ती जग्गामा केही कर्मचारीकै हालिमुहाली रहेको बताए । क्याम्पस प्रमुख लाभले भने, ‘जग्गाको विषयमा मलाई केही थाहा छैन, मैले देखेको पनि छैन, कति आम्दानी आउँछ, थाहा पनि छैन ।’ सामान्य प्रशासन शाखाकै विजयकुमार सिंह र जगदीश साहले सो जग्गाको रेखदेख गर्दै आएको बताउँदै उनले जग्गाबाट आउने आम्दानी उनीहरूले नै बाँडीचुँडी खाएको बताए ।















प्रतिक्रिया