११ कार्तिक २०८३, बुधबार

डोम परिवारका घरमा चलाइयो डोजर, सामान र खाद्यान्नसमेत निकाल्न दिइएन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १८ असोज । सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाको ऐलानी जग्गामा ६० वर्षभन्दा बढी समयदेखि बस्दै आएका डोम परिवारका दुई घरमा डोजर लगाएर भत्काइएको छ । स्थानीय भरतराज शर्माले घर भत्काइदिएपछि निम्नवर्गीय डोम परिवारका १८ जनाको बिचल्ली भएको छ ।

शर्माले ‘मेरो जग्गा खाली गराउन अदालतको आदेश छ’ भन्दै १३ असोजमा डोजर लगाएर घर भत्काएपछि आफूहरूको बिचल्ली भएको ६५ वर्षीय बिल्टु मरिकले बताए । घरका कुनै पनि सामान बाहिर निकाल्न नदिई भत्काइएको छ । ‘दुई पुस्तादेखि ऐलानी जग्गामा बनाएको झुपडीमा गुजारा गर्दै आएका थियौँ, अहिले अचानक डोजर लगाएर भत्काएपछि हाम्रो बस्ने ठाउँ भएन,’ उनले भने ।

बिल्टु मरिकका अनुसार सो जग्गामा दुई परिवार बसेर बाँकी स्थानीयले संरक्षण गरेका थिए । तर, शर्माले सो जग्गासँगै मरिक परिवारले चर्चेको एक कट्ठा पनि कब्जा गरेका छन् । त्यति मात्र नभई ती घरपछाडिको साबिक चन्द्रअयोध्यापुर गाविस–२ को कित्ता नं. ४०८ भएको एक कट्ठा ११ धुर जग्गा पनि शर्माले आफ्नो दाबी गरेका छन् ।

स्थानीय ५५ वर्षीया ललियादेवी मरिकले आफूहरूको घर भत्काइदिए पनि प्रहरीले उजुरी नलिएको गुनासो गरिन् । ‘घरबाहिर रहेको मौका छोप्दै डोजर चलाएर घर भत्काउनुका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन नष्ट गरिदिए,’ उनले भनिन्, ‘ओत लाग्ने झुपडी भत्काएपछि न्याय माग्दै प्रहरीमा उजुरी लिएर गयौँ, तर उजुरी नै दर्ता गर्न मानेनन् ।’