काटमाठौं, १६ असोज । ३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा भारतको पूर्वी चम्पारण घर भएका युवा आइतबार पक्राउ परे ।
शनिबार माडीमा मानसिक सन्तुलन ठीक नभएकी एक महिला ४५ वर्षका छिमेकी पुरुषबाट बलात्कृत भइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा भरतपुर–११ पोखरीचोक बस्ने वर्ष १४ का बालक शनिबार पक्राउ परे । १५ वर्षीया चेपाङ बालिका बिहीबार राति घरमै सुतिरहेका वेला बलात्कृत भइन् ।
देशभरि नै बलात्कारका घटना भइरहेका वेला चितवनमा पछिल्ला ४ दिनमा ४ घटना भएका छन् । बलात्कारको सिकार हुनेमा ३, ७ र १५ वर्षका तीनजना बालिका छन् । एकजना भने मानसिक अवस्था ठीक नभएकी ४५ वर्षीया महिला छिन् ।
प्रहरीले ३ घटनाका आरोपीलाई पक्राउ गरिसकेको छ । एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
भारतीय ट्रकमा काम गर्ने वर्ष १९ का जाहिर आलमलाई जिल्ला प्रहरी कार्यालय चितवनले १४ असोजमा गिरफ्तार ग-यो ।
भरतपुर महानगरपालिका–२९ जुगेडीमा खाना खाने क्रममा होटेल सञ्चालककी छोरीलाई करणी गरेको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि आलम पक्राउ परेका थिए ।
बालिकाको स्वास्थ्य परीक्षणका लागि १५ असोजमा भरतपुर अस्पताल पठाइएको र प्रतिवेदन आएपछि थप विषय खुल्ने प्रवक्ता डिएसपी ढकालले बताए ।
माडी नगरपालिका–१ बस्ने मानसिक सन्तुलन ठीक नभएकी ४५ वर्षीया महिला शनिबार बलात्कृत भइन् ।
बलात्कारको आरोपमा छिमेककै ४५ वर्षीय वासुदेव परियार पक्राउ परे । सोमबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
महिलालाई नजिकैको जंगलमा लगेर बलात्कार गर्दागर्दै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । पीडित महिलाकी छोरीले जाहेरी दिएपछि प्रहरीले परियारलाई पक्राउ गरेको होे ।
७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा भरतपुर–११ पोखरीचोक बस्ने १४ वर्षीय बालक यतिवेला जिल्ला प्रहरी कार्यालय चितवनमा थुनामा छन् ।
ट्युसन पढ्न जाने क्रममा ती बालकले आफूलाई पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै बालिकाले अभिभावकलाई बताएपछि घटना प्रहरीसम्म पुगेको हो । बालिका कक्षा २ र बालक कक्षा १० मा अध्ययनरत छन् । पीडकविरुद्ध बालिकाकी आमाले १३ असोजमा जाहेरी दिएकी हुन् ।
राप्ती नगरपालिका–१ की १५ वर्षीया बालिका घरभित्रै सुतिरहेका वेला गत बिहीबार बलात्कृत भइन् । भूकम्पले भत्काएपछि बनाउँदै गरेको नयाँ घरमा बाहिर अभिभावक सुतेका थिए भने भित्र बालिका थिइन् ।
त्यसैक्रममा आफूलाई दुईजना युवाले बलात्कार गरेको बालिकाले बताएकी छिन् । तर, बालिकाले बलात्कारीको पहिचान गर्न नसकेपछि आरोपी पक्राउ पर्न सकेका छैनन् । पीडितकी आमाले गत शुक्रबार चितवन प्रहरीमा जाहेरी दिएकी छिन् ।
ओखलढुंगार १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ओखलढुंगाको सुनकोसी गाउँपालिकामा एकजना पक्राउ परेका छन् ।
गत शुक्रबार बेलुका छोरीलाई जबर्जस्ती करणी गरेर भागेका ३५ वर्षीय ती पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी निरीक्षक नीरञ्जन भट्टराईले जानकारी दिए । जिल्ला अदातल ओखलढुंगाबाट म्याद थप गरेर थुनामा राखी घटनाको अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
पर्वतर मोदी गाउँपालिका–१ भुक देउरालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोप लागेका भुक देउराली बस्ने २२ वर्षीय सबिन छन्त्याल फरार छन् ।
उनले गत शनिबार राति आफ्नी छोरीको बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएका छन् ।
वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।















प्रतिक्रिया