काठमाडौं, १३ असोज । कांग्रेस सांसदहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेबारे आफूहरूको विमति नरहे पनि सरकारले अध्ययन नगरी, डिपिआर गर्नुअघि नै रूख काट्ने कुरा गरेर तरंग ल्याएको बताए ।
डा. नारायण खड्काले खाडी मुलुकमा लाखौँ युवा गइरहेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक रहेको भन्ने कुरा वैज्ञानिक नहुने बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘भोलि वैदेशिक रोजगारीमा जाने दर घट्यो भने के गर्ने भन्नेबारे सरकारले सोचेको छ कि छैन रु उनले प्रश्न गर्दै भने, ‘कतिपय देशका अन्तर्राष्ट्रिय विमानस्थल टाट पल्टेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै गर्दा पर्यटक कति आउँछन्, केका लागि विमान आउने भन्नेतर्फ पनि सोच्नुपर्छ ।’
सांसद दिव्यमणि राजभण्डारीले विमानस्थल बनाउनुअघि आधारभूत नियम पालना गर्न सरकारलाई सुझाब दिए । ‘सरकारले एक मन्त्रालयले अर्को मन्त्रालयलाई दोष दिने भन्दा पनि विज्ञहरूसँग छलफल गरेर उपयुक्त निर्णयमा पुग्न आवश्यक छ,’ उनले भने, ‘अहिलेको सन्दर्भमा एयरपोर्टको आवश्यक्ताबारे अध्ययन गर्नुपर्छ ।’
प्रतिनिधिसभामा कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले अध्ययनविना विमानस्थल बनाउने तथा रूख काट्ने कुरा नगर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘रूख काट्ने कुरा विमानस्थल बनाउने पूर्वाधार पनि होइन, रूख काट्न पाऊँ भनेर पर्यटन मन्त्रालयको पत्रले तहल्का मच्चिएको हो,’ उनले भनिन् । डिपिआर पूरा गरेर मात्र प्रक्रिया अघि बढाउनुपर्ने उनले धारणा व्यक्त गरिन् ।
सांसद गगन थापा प्रस्तावक तथा प्रदीप गिरि र दिव्यमणि राजभण्डारी समर्थक रहेर गत बुधबार निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने सन्दर्भमा भए गरेका गतिविधि, सरकारको तयारीलगायतबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराएका थिए । तर, त्यसको भोलिपल्ट बिहीबार नै संसद्को अधिवेशन अन्त्य भएकाले सो प्रस्तावमाथि संसदीय समितिमा छलफल गरिएको हो ।















प्रतिक्रिया