पोखरा, १० असोज । पोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी छिन् । सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँडेकी पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया बालिका श्रीया विक मंगलबार मृत फेला परेकी हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
घरबाट पसलतर्फ जाने बाटोनजिकैको झाडीमा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । स्थानीयले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेका छन् ।
बिस्कुट किन्न हिँडेकी श्रीया अबेरसम्म घर नआएपछि आफन्तले खोजी सुरु गरेका थिए । मंगलबार बिहान ८ बजेतिर स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी आमासँगै पुम्दीभुम्दीस्थित मामाघरमा बस्दै आएकी थिइन् । श्रीया लीला आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् ।
घटनापछि आफन्त र स्थानीयले हत्यारालाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् । प्रहरीले घटनास्थलबाट उनको शव पोस्टमार्टमका लागि अस्पताल लैजान खोज्दा स्थानीय र आफन्तले शव लैजान नदिने भन्दै नाराबाजीसमेत गरेका थिए ।
कास्कीमा आर्थिक वर्ष ०७४र७५ मा जबर्जस्ती करणीमा २२ र जबर्जस्ती करणी उद्योगमा ११ गरी ३३ करणीका मुद्दा दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्की अनुसन्धान शाखाका प्रहरी जवान दानबहादुर थापाका अनुसार करणी मुद्दामा पीडित अधिकांश बालिका छन् । ती सबै मुद्दामा कारबाही प्रक्रिया अघि बढेको प्रहरीको भनाइ छ । चालू आर्थिक वर्ष ०७५/७६ मा ७ वटा करणीका मुद्दा परेको थापाले बताए ।
झाडीमा मृत भेटिएकी श्रीयाको शव घटनास्थलमा घोप्टो परेको अवस्थामा थियो । निधारमा ढुंगाले हानेको जस्तो चोट रहेको र रगत लागेका तीनवटा ढुंगा शवसँगै रहेको पाइएको छ । उनको शरीरको तल्लो भागको कपडा खोलिएको र माथिको भागको कपडा घाँटीसम्मै सारेको अवस्था थियो ।
स्थानीयले बलात्कारपछि उनको हत्या भएको आशंका गरे पनि प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर ल्याउने बताएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीका अनुसार घटनास्थल हेर्दा उनको हत्या भएको देखिए पनि बलात्कार भए–नभएको अहिले केही भन्न नसकिने बताए । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।















प्रतिक्रिया