प्यूठान, ८ असोज । प्यूठान जिल्लाका नौ वटै स्थानीय तहले भाडाका भवनबाट काम गरिरहेका छन् । आफ्नै भवन नहुँदा तहलाई आर्थिक भार थपिरहेको छ । भवन अभावमा न्यायकि समितिले समेत प्रभावकारी सेवा दिन सकिरहेका छैनन् ।
छुट्टै इजालस बन्न सकेको छैन । जनप्रतिनिधि चुनिएको वर्ष दिन बितिसक्दासमेत तहले भवन निर्माणमा चासो देखाएका छैनन् । दैनिक कामकाजमा समस्या पर्ने गरेको कर्मचारीको गुनासो छ । विषयगत कार्यालयहरू साँघुरो कोठामा सञ्चालन गर्नुपर्ने बाध्यता छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
तर, जनप्रतिनिधिहरूले भवन निर्माणमा भन्दा आफ्नै सेवा सुविधामा बढी जोड दिएका छन् । लाखौ खर्चेर उनीहरूले गाडी खरिद गरी ‘विलासी’ दिनचर्या बिताइरहेका छन् । तर, भवन निर्माणमा प्रभावकारी कदम चालेका छैनन् ।
मासिक हजारौं रुपैयाँ घर भाडामा खर्च हुने गरेको छ । धेरैजसो स्थानीय तहले लाखौ खर्चेर गाडी किनेका छन् । वडाध्यक्षहरूलाई मोटरसाइकल दिइएको छ। कार्यालयको समयमा भन्दा जनप्रतिनिधिहरूले व्यक्तिगत कामकाजमा सवारीसाधनको दुरुपयोग गरेर खर्चको भार बढाइरहेका छन् ।
एक वर्ष हुँदासम्म पनि उनीहरूले कार्यालयको प्रशासनिक कामकाजलाई सहज बनाउन भवन निर्माणतर्फ चासो नदिँदा पहिलो कार्यालय भाडाकै भवनमा बित्नेमै आशंका गर्न थालिएको छ ।
‘दुई वटा घर भाडामा लिएका छौं’, नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले भने, ‘२० वटा कोठा छन् । मासिक ४० हजार रुपैयाँ भाडा तिर्छौं ।’
साँघुरो भवनमा कार्यालय सञ्चालन गर्दा दैनिक कामकागजमा समस्या भइरहेको उनले गुनासो गरे । पाँच वटा विषयगत शाखासहित कार्यालय प्रमुखको ‘आवास’ पनि भाडामा सञ्चालन भएको उनले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र नगर्दा भवन निर्माणको प्रक्रिया अघि नबढेको उनको भनाइ छ ।















प्रतिक्रिया