सोलुखुम्बु। गत वैशाख ५ गते सगरमाथामा हिमपहिरोको दुर्घटनापछि आरोहण सहयोगीहरुले आरोहण त्यागेको समाचार आइरहेका बेला २ विदेशी आरोही भने हेलिकोप्टरमार्फत सगरमाथाको दोस्रो शिविरमा पुगेका छन् ।
सगरमाथा आरोहणका लागि एक चिनिया युवती र उनका ७ नेपाली सहयोगी दुई दिनअघि हेलिकोप्टरमार्फत सगरमाथाको दोस्रो शिविरमा पुगेको बताइएको छ । हिजो एक अमेरिकी आरोही युवती पनि हेलिकोप्टरमार्फत दोस्रो शिविरमा पुगेकी छिन् । अमेरिकी आरोहीका सहयोगीहरु भने हेलिकोप्टरमार्फत दोस्रो शिविरमा जान नचाहेको बताइए पनि नेपाली सहयोगीहरु गए-नगएको प्रष्ट नभएको स्रोतको भनाइ छ ।
सगरमाथाको आधार शिविरभन्दा माथि उद्धार कार्यमा भन्दा बाहेक हेलिकोप्टर जान नपाइने कानुनी व्यवस्था रहेको भएपनि उनीहरु त्यो नियमलाई मिचेर हेलिकोप्टरमार्फत दोस्रो शिविरमा पुगेका हुन् । चिनिया आरोही ६ महिनाभित्र ७ वटा महादेशका हिमाल आरोहण गर्ने अभियानमा रहेको बताइन्छ । अमेरिकी युवतीका बारे भने विस्तृत विवरण थाहा हुनसकेको छैन । अमेरिकी युवती हिमालयन गाइड्स कम्पनीमार्फत आरोहणमा गएको बताइएको छ । चिनिया आरोही टोरेट्स कम्पनीमार्फत गएकी हुन् । नियम छल्दै उनीहरु अति गोप्य रुपमा सगरमाथा आरोहण गरिरहेको स्रोतको दाबी छ ।
सगरमाथा क्षेत्रमा सरसफाइको काम गर्दै आएको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसीले पहिरो गएको क्षेत्र क्याम्प १ सम्म बाटो मर्मतको जिम्मा लिएको छ । आफ्ना कर्मचारीहरु आधार शिविरमा रहेको र त्यहाँबाट अहिलेसम्म कुनै पनि आरोही अगाडि नगएको एसपिसिसीका महासचिव लामाकाजी शेर्पाले बताउनुभयो ।
सगरमाथा आरोही सङ्घका अध्यक्ष वाङछु शेर्पा पनि सगरमाथा आरोहणका लागि हेलिकोप्टरमार्फत दोस्रो शिविरमा जान नमिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “आधार शिविरभन्दा माथि हेलिकोप्टर उद्धार कार्यमा बाहेक जान मिल्दैन, आरोहण भनेको आधार शिविरबाट सुरु हुनुपर्छ, त्यसरी एकैपटक हेलिकोप्टरबाट माथि जान पाइँदैन” ।
सगरमाथा आधारशिविरमा एम आई सेभेन्टिन हेलिकोप्टर दुर्घटना भएपछि सरकारले ठूलो हेलिकोप्टरलाई आधार शिविरमा जानै रोक लगाएको छ भने साना हेलिकोप्टर पनि उद्धार कार्यमा बाहेक अन्य प्रयोजनका लागि आधार शिविर भन्दामाथि अवतरण गर्न नमिल्ने व्यवस्था गरेको छ ।
यसपटक सगरमाथामा भएको दुर्घटनापछि शेर्पाहरुले आरोहण त्यागेका बेला २ आरोही अति गोप्य रुपमा हेलिकोप्टरमार्फत दोस्रो शिविरमा पुगी त्यहाँबाट सगरमाथा आरोहण थालेको भन्दै आरोहण सहयोगीहरुले विरोध गरेका छन् ।
उनीहरु सगरमाथा आरोहण आधार शिविरबाट हिँडेरै गर्नुपर्ने र एकैपटक माथि पुगेकालाई मान्यता दिन नहुने बताउँछन् । रासस














प्रतिक्रिया